सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै काठमाडौंको ग्रीन लिफ प्रालि (मुख्य व्यक्ति: लुना खरेल), धनुषाको शिवम् कन्स्ट्रक्सन (मुख्य व्यक्ति: राधेश्याम झा), काठमाडौंको डी.जी. इगल कन्स्ट्रक्सन (मुख्य व्यक्ति: रघुनाथ कुमार ठाकुर) र सुनसरीको थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स (मुख्य व्यक्ति: मुन्नी कुमारी मेहता) लाई कालोसूचीमा राखिएको जानकारी दिएको हो।
काम सन्तोषजनक नभएको भन्दै यी कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो। अब यी कम्पनीहरूले एक वर्षको अवधि भर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
ग्रीन लिफ प्रालिलाई बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सिफारिसमा र शिवम् कन्स्ट्रक्सनलाई महोत्तरीस्थित गौशाला नगरपालिकाको सिफारिसमा कालोसूचीमा राखिएको हो। त्यस्तै, डी.जी. इगल कन्स्ट्रक्सनलाई रौतहटको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई शहरी विकास तथा भवन कार्यालय, विराटनगरको सिफारिसमा कालोसूचीमा राखिएको हो।


प्रतिकृया