उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मन्त्रीहरूले ठूलो संख्यामा स्वकीय सचिव र सल्लाहकार राख्ने प्रवृत्तिको आलोचना गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले केही मन्त्रीहरूले पाँचदेखि सात जनासम्म तलबसहितका स्वकीय सचिव तथा दर्जनौं तलबविहीन स्वकीय र सल्लाहकार राखेको आरोप लगाए।
उनले स्वकीय सचिव र सल्लाहकारका कारण मन्त्रालयका कर्मचारीलाई नै बस्ने ठाउँको अभाव भएको गुनासो आएको बताए। मन्त्रालयको संख्या घटाएर खर्च कटौती गर्ने उद्देश्य भए पनि स्वकीय र सल्लाहकारको संख्या बढाउँदा सरकारी खर्च झन् बढ्ने र कर्मचारीतन्त्रमा अनावश्यक हस्तक्षेप हुने उनको भनाइ थियो।
घिसिङले सांसदलाई स्वकीय सचिव उपलब्ध गराउने व्यवस्थामाथि पनि प्रश्न उठाउँदै आवश्यक परे आफ्नै तलबबाट स्वकीय सचिव राख्न सक्नुपर्ने धारणा व्यक्त गरे। आफू मन्त्री हुँदा तीनवटा मन्त्रालय सम्हाल्दा तलबसहित एकजना स्वकीय सचिव र बिना पारिश्रमिक एकजना सल्लाहकार मात्र राखेको उल्लेख गर्दै उनले सरकारले स्वकीय सचिव र सल्लाहकारसम्बन्धी व्यवस्था व्यवस्थित गरी सुशासन र खर्च नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताए।
प्रतिकृया