पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी छानबिनबाट सफाइ पाएपछि पुनः गृहमन्त्रीको जिम्मेवारी पाउनेमा आशावाद व्यक्त गरेका छन्। आइतबार रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पुनः जिम्मेवारी पाए दुई महिनाभित्रै उल्लेखनीय कामको सुरुवात गरेर देखाउने बताएका हुन्।
उनले आफूलाई फेरि गृहमन्त्रीको जिम्मेवारी दिइएमा सुरुआती दुई महिना मन्त्रालयमा बधाई दिन, तस्बिर खिच्न वा माला–खादा लगाउन नआउन आग्रह गरे। ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरूका दुई महिना कोही पनि नआइदिनुहोला ।’ उनले भने।
गुरुङले दुई महिनाको अवधिमा मन्त्रालयका धेरै काम व्यवस्थित गर्दै ठोस परिणामको आधार तयार गर्ने दाबी गरे। ‘दुई महिना समय दिनुहोला म त्यतिखेर सबैकुराहरू स्टाब्लिस गरिदिन्छु । त्यसपछि पनि भएन भने बाबु तिम्ले बोलेको कुरा भएन है भन्नुहोला’ उनले भने।
सम्बोधनका क्रममा उनले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि नै मन्त्री पदबाट राजीनामा दिएको बताए। सार्वजनिक पदमा बसेपछि उठ्ने प्रश्नहरूको सामना गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै उनले छानबिन समितिसमक्ष बयान दिँदा सम्पत्तिको स्रोतबारे सोधिएका कडा प्रश्नहरूको स्पष्ट जवाफ दिएको बताए।

प्रतिकृया