आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने, कहिले देखि आवेदन दिन सकिने ?
आइसीएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३ लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो। यसमध्ये १ लाख ८० हजार इकाई कम्पनीले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ।
सर्वसाधारणका लागि बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत (६ हजार इकाई) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। फाइनान्सले ७ वर्ष अवधिको ‘९% आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्नेछ। यसमा वार्षिक ९ प्रतिशत ब्याजदर उपलब्ध गराइनेछ।
ऋणपत्रको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। यसमा माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ। यदि उक्त मिति भित्र सबै इकाई बिक्री नभएमा माघ २३ गतेसम्म आवेदन खुला रहनेछ।
ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख २० हजार इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ। आवेदन प्रक्रिया सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट गर्न सकिनेछ।