आईसीएफसी फाइनान्स लिमिटेडको २३औँ वार्षिक साधारण सभा मंगलबार काठमाडौंको बौद्ध हेरिटेजमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई चुक्ता पुँजीको १०.५२६३ प्रतिशत अर्थात् १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ ६६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि एस.ए.आर. एसोसिएट्सलाई बाह्य लेखा परीक्षकमा पुनः नियुक्त गर्ने तथा संस्थाको नियमावली संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ।
आर्थिक वर्ष २०८२/८३ मा फाइनान्सको कुल निक्षेप २२ अर्ब ७४ करोड रुपैयाँ, कर्जा प्रवाह १९ अर्ब ३३ करोड रुपैयाँ र खुद मुनाफा २६ करोड ५७ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा निष्क्रिय कर्जा (एनपीएल) १.८४ प्रतिशतबाट घटेर १.५५ प्रतिशतमा आएको कम्पनीले जनाएको छ।
फाइनान्सले चार प्रदेशमा २१ शाखामार्फत १ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

प्रतिकृया