प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले कसैको भूमि मिचेको छ ? कि भनेर खोज्दै हिँडने सत्ता पक्षका सांसदहरु देखेर आफू लज्जित भएको टिप्पणी गरेका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त भनाई राखेका हुन् । नेता आङदेम्बेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँडनुपर्नेमा सत्ता पक्ष केही सांसदहरुले नेपालले भारतको सीमा मिचेको हो भनेर न्वारनदेखिको बल लगाएर दौडी राखेको भन्दै आपत्ति जनाए । उनले देश र जनता कसैले पनि नरुचाउने खालको यस्ता हर्कत गर्ने सांसदहरुलाई वीर भक्ति थापाको आत्माले पनि धिकार्ने बताए । उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गहन कुटनीतिक सम्वादमार्फत टुंगो लगाउनुपर्ने पनि स्पष्ट पारे ।
उनले भने,‘दुनियाँलाई थाहा छ सभामुख महोदय लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । लिम्पियाधुरा हाम्रो हो । यही संसदले ती भूभागसहितको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ । यो विषयको हल उत्तेजना र आवेशले होइन । संयमित ढंगले गहन सम्वादको माध्यमबाट कुटनीतिक प्रक्रिया बाट हुनु पर्दछ । हामी सबै यही चाहन्छौ । त्यसका लागि हामी पक्ष, प्रतिपक्ष सबैनै सरकारको साथमा नै थियौं । र छौँ । तर सरकार र सत्तारुढ दलको रवैया यो गम्भिर विषयप्रति गम्भिर देखिएन सभामुख महोदय । सरकार अगल कुरा हो । पार्टी अलग हो । मन्त्री, प्रधानमन्त्री पद अलग हो । संसद अलग । यो तथ्य बुझेर अघिल्लो संसदमा जुन बेला नेपाली काँग्रेसका वर्तमान पार्टी सभापति र उपाध्यक्ष तत्कालीन अवस्थामा महामन्त्री हुनुहुन्थ्यो । उहाँहरुले रोष्टममा उभिएर आफनै सरकारको पनि कमजोरीहरु केलाउनुभएको थियो । काँग्रेसका सांसदहरु काँग्रेसकै मन्त्री, प्रधानमन्त्रीका विरुद्ध आवश्यक विषयमा प्रश्न उठाउनु हुन्थ्यो । प्रहार गर्नु हुन्थ्यो । त्यसैले दम राखेर आजको मितिमा यो भन्न सकियो काँग्रेस लास र दासको पार्टी होइन । त्यही हिम्मतमा, त्यही नैतिक धरातलमा उभिएर हामीहरुले बोल्न सकिराखेका छौ । तर आजको मितिमा यो संसदमा प्रश्न गर्ने क्षमताले आत्माहत्या गरिराखेको बडो कारुणिक दृष्य मैले देखिराखेको छु । सत्ताको कित्ताबाट कोही एकजनाले हिम्मत गर्लान । मेरो देशले कसेको सीमा कहाँ मिचेको छ ?भनेर प्रश्न गर्लान भनेको त सभामुख महोदय म आफैँ लज्जित छु । उल्टै कतिपय सांसद मित्रहरु नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न म यो शब्द प्रयोग गर्न चाहन्थ्ये तर भन्छु न्वारनदेखिकै बल लगाएर दौडी राख्नु भएको छ । नेपालले मिचेको भूमि खोजी राख्नु भएको छ । यस्तो खालको जनताले देख्दाखेरी पनि नरुचाउने खालको हर्कत गर्ने मित्रहरुलाई वीर भक्ति थापाको त्यो आत्माले धिर्कालान कि ।’
नेता आङदेम्बेले आज सत्तापक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत आत्माहत्या भइराखेको कारुणिक दृष्य देख्नुपरेको गुनासो पनि गरे ।
–न्युज एजेन्सी नेपाल

प्रतिकृया