बाराको सिमरामा अवस्थित पाँचतारे होटल इच्छाले चालु आर्थिक वर्ष २०२४/२५ को पहिलो ९ महिनामा करिब ११ करोड रुपैयाँको व्यापार गरेको छ। होटलको कुल व्यापार १० करोड ८० लाख रुपैयाँ (अपरिस्कृत) पुगेको हो।
सन् २०१४ मा चारतारे होटलका रूपमा खुलेको इच्छा होटलले सन् २०२३ को मार्चमा पाँचतारे स्तरको मान्यता पाएको हो। होटलमा इच्छाबहादुर वाग्ले र उनका परिवारको लगानी छ।
बर्सेनि बढ्दो व्यापार
होटल इच्छाले पछिल्ला केही वर्षमा व्यापारको आकार लगातार बढाउँदै आएको छ। आर्थिक वर्ष २०२१ मा २ करोड ४० लाख रुपैयाँको कारोबार गरेको होटलले २०२२ मा ६ करोड, २०२३ मा १० करोड ८० लाख र २०२४ मा १७ करोड १० लाख रुपैयाँको व्यापार गर्न सफल भएको हो।
होटलको कुल आम्दानीमा क्यासिनोको योगदान उल्लेखनीय छ। क्यासिनो भाडाबाट मात्रै होटलले आम्दानीको करिब ३३ प्रतिशत हिस्सा आर्जन गर्छ। यद्यपि होटलले कोठाको भाडादर भने १५ प्रतिशतले घटाएको छ। अहिले औसत कोठा भाडा ४ हजार रुपैयाँ पुगेको छ, जुन पाँचतारे होटलको हिसाबले मध्यमस्तरमा पर्छ।
रेटिङ र वित्तीय स्थिति
होटलले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इक्रा नेपालमा गराएको रेटिङमा ‘डबल बी’ प्राप्त गरेको छ। यो रेटिङले मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ भने वित्तीय दायित्वहरू समयमै चुकौती गर्न सक्ने सम्भावना देखाउँछ।
पुँजी वृद्धि र आईपीओ योजना
होटल इच्छाले पछिल्लो समय पुँजी बढाउने दिशामा पनि अगाडि बढेको छ। सन् २०२३ मा २० करोड रहेको पुँजी अहिले १ अर्ब २० करोड रुपैयाँ पुगेको छ। कम्पनीले २०२५ अन्त्यसम्म थप ८८ करोड रुपैयाँ पुँजी थप्ने योजना बनाएको छ।
यही क्रममा होटलले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गरेर पुँजी जुटाउने तयारी गरिरहेको छ।


प्रतिकृया