नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई ऋण असुलीका क्रममा कठोर विधि नअपनाउन स्पष्ट निर्देशन दिएको छ। मंगलबार जारी गरिएको नयाँ संचालन मार्गदर्शनमा कर्जा असुली प्रक्रियामा अपनाउनुपर्ने मापदण्ड र आचरणलाई उल्लेख गरिएको छ। यस अनुसार, ऋणीमाथि डर, धम्की, अपमान, वा कुनै प्रकारको हिंसात्मक व्यवहार गर्न निषेध गरिएको छ।
ऋण असुली गर्दा लघुवित्त संस्थाले निम्न आचरण पालना गर्नुपर्छ:
- ऋणीलाई धम्कीपूर्ण र अपमानजनक भाषा प्रयोग गर्न नहुने।
- अनावश्यक फोन वा परिवार, साथी, तथा सहकर्मीलाई अपमान गर्न निषेध।
- सम्पत्ति वा प्रतिष्ठामा क्षति पुर्याउने कार्य वा गलत सूचना दिन नहुने।
- समूह बैठक वा कार्यालयजस्ता तोकिएका स्थानमै ऋण असुली गर्ने र विशेष कारणबाहेक ऋणीको घर वा कार्यस्थलमा नजाने।
राष्ट्र बैंकले कर्जाको प्रभावकारी व्यवस्थापनका लागि लघुवित्त संस्थाहरूलाई ऋणीसँग समझदारीमा आधारित व्यवहार गर्न, कर्जा विश्लेषण सुधार्न, र अनुगमन प्रक्रियालाई बलियो बनाउन निर्देशन दिएको छ। व्यवसाय वा परियोजनाका आधारमा कर्जा प्रवाह गर्न, बिमाको प्रवर्द्धन गर्न, र ऋणीलाई सही प्रयोजनमा कर्जाको सदुपयोग गर्न अभिप्रेरित गर्नुपर्ने उल्लेख गरिएको छ।
यस्तै, कर्जा भुक्तानी तालिका तयार गर्दा ऋणीको आम्दानी र नगद प्रवाहलाई ध्यान दिनुपर्ने, कर्जा प्रवाहको उद्देश्यअनुसार रकम प्रयोग भएको छ कि छैन भन्ने अनुगमन गर्नुपर्ने, र कर्जा सदुपयोगिताका लागि नियमित प्रतिवेदन तयार गरी कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ।
यस मार्गदर्शनले लघुवित्त संस्थाहरूलाई ऋणीसँग सम्मानजनक व्यवहार गर्दै कर्जाको उचित व्यवस्थापन र वित्तीय अनुशासनलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।


प्रतिकृया