अबदेखि लघुवित्तले ऋणीलाई तोकिएको स्थानमा बाहेक अन्त किस्ता माग्न नपाउने
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई ऋण असुलीका क्रममा कठोर विधि नअपनाउन स्पष्ट निर्देशन दिएको छ। मंगलबार जारी गरिएको नयाँ संचालन मार्गदर्शनमा कर्जा असुली प्रक्रियामा अपनाउनुपर्ने मापदण्ड र आचरणलाई उल्लेख गरिएको छ। यस अनुसार, ऋणीमाथि डर, धम्की, अपमान, वा कुनै प्रकारको हिंसात्मक व्यवहार गर्न निषेध गरिएको छ।
ऋण असुली गर्दा लघुवित्त संस्थाले निम्न आचरण पालना गर्नुपर्छ:
- ऋणीलाई धम्कीपूर्ण र अपमानजनक भाषा प्रयोग गर्न नहुने।
- अनावश्यक फोन वा परिवार, साथी, तथा सहकर्मीलाई अपमान गर्न निषेध।
- सम्पत्ति वा प्रतिष्ठामा क्षति पुर्याउने कार्य वा गलत सूचना दिन नहुने।
- समूह बैठक वा कार्यालयजस्ता तोकिएका स्थानमै ऋण असुली गर्ने र विशेष कारणबाहेक ऋणीको घर वा कार्यस्थलमा नजाने।
राष्ट्र बैंकले कर्जाको प्रभावकारी व्यवस्थापनका लागि लघुवित्त संस्थाहरूलाई ऋणीसँग समझदारीमा आधारित व्यवहार गर्न, कर्जा विश्लेषण सुधार्न, र अनुगमन प्रक्रियालाई बलियो बनाउन निर्देशन दिएको छ। व्यवसाय वा परियोजनाका आधारमा कर्जा प्रवाह गर्न, बिमाको प्रवर्द्धन गर्न, र ऋणीलाई सही प्रयोजनमा कर्जाको सदुपयोग गर्न अभिप्रेरित गर्नुपर्ने उल्लेख गरिएको छ।
यस्तै, कर्जा भुक्तानी तालिका तयार गर्दा ऋणीको आम्दानी र नगद प्रवाहलाई ध्यान दिनुपर्ने, कर्जा प्रवाहको उद्देश्यअनुसार रकम प्रयोग भएको छ कि छैन भन्ने अनुगमन गर्नुपर्ने, र कर्जा सदुपयोगिताका लागि नियमित प्रतिवेदन तयार गरी कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ।
यस मार्गदर्शनले लघुवित्त संस्थाहरूलाई ऋणीसँग सम्मानजनक व्यवहार गर्दै कर्जाको उचित व्यवस्थापन र वित्तीय अनुशासनलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।