नेपालमा एमसीसी परियोजना स्थगित भएको हो ?
अर्थ मन्त्रालयले अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोगमा अघि बढाइएको परियोजनाको भुक्तानी रोकिएको जानकारी दिएको छ।
मन्त्रालयका अनुसार एमसीसीले २०८१ फागुन २ गते इमेलमार्फत नेपाल सरकार र परियोजना कार्यान्वयन निकाय एमसीए नेपाललाई पत्र पठाउँदै एमसीसी फण्डबाट हुने क्रियाकलाप ९० दिनका लागि स्थगित गरिएको जानकारी गराएको हो।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले २०८१ फागुन २ गते नेपाल सरकार र सम्बन्धित निकायलाई इमेलमार्फत सूचित गर्दै, सन् २०१७ सेप्टेम्बर १४ मा सम्पन्न कम्प्याक्टअन्तर्गत कार्यान्वयन भइरहेका परियोजनासँग सम्बन्धित भुक्तानी अमेरिकी राष्ट्रपतिको २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशअनुसार ९० दिनका लागि स्थगित गरिएको जानकारी गराइएको छ।”
यसअघि, अमेरिकी अन्तर्राष्ट्रिय सहायता संस्था (USAID) अन्तर्गत नेपाल सरकार, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई दिइने अनुदान रकम पनि रोकिएको थियो। USAID को अनुदान रकम धर्मपरिवर्तन, जातीय द्वन्द्व तथा राजनीतिक हस्तक्षेपमा प्रयोग भएको आरोप लाग्दै आएको थियो।