तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।
मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणमै एलपी ग्यास आयात र वितरण भइरहेको जनाएको छ। तर, साउन महिनादेखि पूरा सिलिन्डर वितरण प्रणाली लागू भएपछि एकैपटक ग्यासको माग बढ्दा बजारमा केही असहज अवस्था सिर्जना भएको मन्त्रालयको भनाइ छ।
मन्त्रालयका अनुसार बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरोकारवाला निकायसँग समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने काम भइरहेको छ। पर्याप्त ग्यास आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयले कूटनीतिक पहललाई पनि निरन्तरता दिएका छन्।
त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ। नेपाल आयल निगम तथा ग्यास उद्योगीसँगको समन्वयमा ग्यास आयात, भण्डारण र वितरण प्रक्रियालाई थप पारदर्शी तथा अनुमानयोग्य बनाउने सुधारका कामसमेत सुरु गरिएको उल्लेख गरिएको छ।
मन्त्रालयले हाल देखिएको वितरण असहजता केही दिनभित्र पूर्ण रूपमा समाधान हुने विश्वास व्यक्त गर्दै अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलाग्न उपभोक्तालाई आग्रह गरेको छ। साथै, वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्ताको पहिचान गरी उनीहरूलाई प्राथमिकताका साथ ग्यास उपलब्ध गराउन नेपाल आयल निगम, ग्यास विक्रेता तथा डिलरलाई निर्देशन दिएको छ।
मन्त्रालयले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनी व्यवस्था उल्लङ्घन गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।

प्रतिकृया