सरकारले वर्षायाम र हिउँदका लागि फरक–फरक विद्युत् महसुल लागू गर्ने तयारी गरेको छ। यो व्यवस्था लागु भएमा वर्षायाममा सस्तो र हिउँदमा तुलनात्मक रूपमा महँगो दर हुनेछ। यसका लागि ऊर्जा मन्त्रालयले तयारी गरिरहेको छ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि आलोचना बढेको छ। त्यसपछि सरकारले उपभोक्ताको बिल नबढ्ने गरी महसुल समायोजन गर्ने विकल्पमा काम थालेको हो।
वर्षायाममा नदीमा पानी बढी हुने भएकाले विद्युत् उत्पादन पनि बढ्छ। धेरै बिजुली खेर जान नदिन त्यस समयमा सस्तो दर कायम गरेर खपत बढाउने योजना बनाइएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि ५ प्रतिशत भ्याटको भार अन्तिम उपभोक्तामा नपर्ने बताउँदै आएका छन्। आवश्यक परे महसुल समायोजन गरेर बिल नबढ्ने व्यवस्था गरिने उनको भनाइ छ।
मौसमी आधारमा फरक विद्युत् महसुल लागू गर्ने सुझाव यसअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि दिएको थियो। यस्तै, विगतका सरकार र नेपाल विद्युत् प्राधिकरणले पनि वर्षायाममा सस्तो बिजुली उपलब्ध गराउने अवधारणा अघि सारेका थिए, तर कार्यान्वयन हुन सकेको थिएन।

प्रतिकृया