ओली र लेखकलाई पक्राउ गर्ने तयारीमा सरकार, मध्यरातमा छलफल- प्रहरीले माग्यो लिखित आदेश

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २१ गते
ओली र लेखकलाई पक्राउ गर्ने तयारीमा सरकार, मध्यरातमा छलफल- प्रहरीले माग्यो लिखित आदेश

जेनजी युवा आन्दोलनसँग सम्बन्धित घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पक्राउ माग उच्च बनेको बेला सरकारमाथि दबाब बढेको छ। यसैबीच, अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख सुरक्षा अधिकारीहरूसँग विस्तृत छलफल गरेकी छन्। सोमबार बेलुकीदेखि मंगलबार बिहानसम्म, उनले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग जेनजी युवाहरूको माग र सुरक्षा परिस्थितिबारे विचार विमर्श गरिन्।

प्रहरी अधिकारीहरूले न्यायिक छानबिन भइरहेका बेला उजुरी दर्ता वा पक्राउ गर्दा मुठभेड हुनसक्ने खतरा औँल्याए। गृहमन्त्री अर्याल जाहेरी दर्ता पक्षमा भए पनि प्रहरीले थप विवाद नहोस् भनेर सावधानीपूर्वक निर्णय गर्न सुझाव दिएका थिए। प्रधानमन्त्री कार्कीले दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याउनुपर्ने, घटनालाई मसिनो गरी विश्लेषण गर्नुपर्ने र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्न निर्देशन दिएकी छन्।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन समिति गठन भएको छ। समितिको सिफारिस अनुसार ओली, लेखक, तत्कालीन गृहसचिव र काठमाडौंका तत्कालीन सीडीओलाई उपत्यका बाहिर जान रोक लगाइएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स