जेन–जी आन्दोलन छानबिन: ओली र लेखकलाई बयानमा बोलाउने आयोगको निर्णय

जेन–जी आन्दोलन छानबिन: ओली र लेखकलाई बयानमा बोलाउने आयोगको निर्णय
File Photo

जेन–जी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले उनीहरू दुवैलाई बयानमा बोलाउने निष्कर्ष निकालेको हो ।

आयोगका अनुसार बयानमा बोलाउने निर्णय भइसकेको र केही दिनभित्र औपचारिक पत्राचार गरिने छ ।

आयोगका एक सदस्यका अनुसार ओली र लेखकलाई सोधिने प्रश्नहरू तयार भइसकेका छन् । आन्दोलन दमनमा सरकारको भूमिका, सुरक्षा तयारीको अवस्था र कमजोरी कहाँ भयो भन्ने विषयमा केन्द्रित रहेर सोधपुछ गरिनेछ ।

यसबीच, ओली र लेखकलाई छानबिनको दायरामा ल्याउन ढिलाइ भएको भन्दै सहिद परिवार र जेन–जी आन्दोलनका अगुवाहरूले सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले आयोग निष्पक्ष नभएको आरोप लगाउँदै बयान नदिने सार्वजनिक घोषणा गरिसकेका छन् । बरु जेल बस्न र गोली खान तयार हुने तर बयान नदिने चेतावनी उनले पटक-पटक दिएका छन् । गृहमन्त्री लेखक भने यस विषयमा मौन छन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको आयोगको कार्यकाल तीन महिना पूरा भइसकेको छ । सरकारले आयोगको म्याद ९ माघसम्म थप गरेको छ । आयोगले सोही अवधिभित्र प्रतिवेदन बुझाउने तयारी गरिरहेको जनाएको छ ।

आन्दोलन दमनमा संलग्न सुरक्षाकर्मी, उनीहरूका कमान्डर, गुप्तचर प्रमुखदेखि तत्कालीन गृहसचिवसम्म गरी आयोगले हालसम्म १५० भन्दा बढी व्यक्तिसँग बयान तथा सोधपुछ गरिसकेको छ । सोमबार आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल र तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारीसँग बयान लिएको थियो ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स