नेपाल एल.पि. ग्याँस उद्योग संघले काठमाडौं उपत्यकामा बिक्री हुने एलपी ग्यासको मूल्य घटाउन उद्योगी तथा विक्रेतालाई आग्रह गरेको छ।
संघले असोज २ गते शुक्रबारदेखि निगमले तोकेको प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँभन्दा बढी मूल्य नलिई ग्यास बिक्री वितरण गर्न आग्रह गरेको हो।
यसअघि त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास ल्याउन वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो। त्यसक्रममा संघले प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरी २ हजार १६५ रुपैयाँ ३८ पैसासम्ममा ग्यास बिक्री गर्न आग्रह गरेको थियो।
अहिले अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएसँगै एलपी ग्यासका बुलेटहरू काठमाडौं आउन थालेका छन्। त्यससँगै वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने अवस्था नरहेको संघले जनाएको छ।
संघले काठमाडौं उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगीलाई नयाँ मूल्यअनुसार ग्यास बिक्री गर्न तथा आफ्ना विक्रेतालाई समेत सोहीअनुसार जानकारी गराउन अनुरोध गरेको छ।


प्रतिकृया