स्वास्थ्य बिमा कार्यक्रम बन्द हुन नदिन रक्सी-चुरोटमा ‘विशेष कर’ लगाएर सबैको उपचार निःशुल्क गर्ने गगन थापाको रणनीति

स्वास्थ्य बिमा कार्यक्रम बन्द हुन नदिन रक्सी-चुरोटमा ‘विशेष कर’ लगाएर सबैको उपचार निःशुल्क गर्ने गगन थापाको रणनीति

नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बिमा कार्यक्रम बन्द हुन नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। हाल अस्तव्यस्त अवस्थामा पुगेको स्वास्थ्य बिमालाई ‘राष्ट्रिय गौरवको आयोजना’ का रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्यालाई स्वीकार गरे। “अनफर्चुनेट्ली अहिले बिमाको कार्यक्रम अस्तव्यस्त भएको छ। समाचारहरू पढ्दा यो त बन्द नै हुने हो कि भन्ने स्थिति देखिन्छ,” उनले भने, “यसलाई सच्याउन र सुधार गर्न आवश्यक छ।”

स्वास्थ्य सेवालाई परोपकार नभई नागरिकको सुरक्षा र संवैधानिक अधिकार का रूपमा लिनुपर्ने थापाको तर्क छ। स्वास्थ्य संविधानले दिएको अधिकार र सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै उनले ती जिम्मेवारी पूरा गर्ने सबैभन्दा प्रभावकारी औजार नै स्वास्थ्य बिमा कार्यक्रम भएको बताए।

थापाले स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्नुको पृष्ठभूमि स्मरण गर्दै भने, “उपचार गर्दागर्दै सम्पत्ति सकिएको, गरिबीबाट बल्लतल्ल बाहिर निस्किएको परिवारमा कडा रोग लाग्दा घरखेत बेच्नुपर्ने अवस्था देखिन्थ्यो। त्यो अवस्था फेर्नका लागि नै मैले स्वास्थ्य मन्त्री हुँदा यो कार्यक्रम ल्याएको हुँ।”

उनका अनुसार नेपालमा स्वास्थ्य उपचारमा नागरिकले खल्तीबाट गर्ने खर्च (आउट अफ पकेट एक्सपेन्डिचर) ५७ प्रतिशत पुगेको छ, जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा करिब तीन गुणा बढी हो। यही अवस्थालाई बदल्न सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा समेट्ने योजना अघि सारिएको उनले बताए।

थापाले रक्सी, चुरोट जस्ता हानिकारक वस्तुमा ‘एयरमार्क’ गरेर विशेष कर लगाइने र त्यसबाट उठेको रकम स्वास्थ्य बिमामा खर्च गरिने रणनीति प्रस्तुत गरे। साथै, छरिएर रहेका सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई बिमाअन्तर्गत ल्याइने र तीनै तहका सरकारका स्वास्थ्य प्रणालीलाई एकीकृत गरिने उनको भनाइ छ।

बिमा बोर्डको सुशासनमा देखिएका समस्या समाधान गर्न र चुहावट रोक्न रियल–टाइम डिजिटल प्रणाली विकास गर्नुपर्नेमा थापाले जोड दिए। बिमाको क्लेम र भुक्तानी प्रणालीलाई चुस्त बनाउँदै पाँच वर्षभित्र हरेक नेपालीलाई पूर्ण स्वास्थ्य सुरक्षा दिने उनको दाबी छ।

“एक पटक स्वास्थ्य बिमा लिएपछि, नेगेटिभ लिस्टमा नपर्ने उपचार खर्च जति भए पनि बिमाले कभर गर्ने अवस्थामा पुर्‍याउन सकिन्छ,” उनले भने, “त्यसो भयो भने खल्तीमा पैसा नभएकै कारण उपचार नपाएको भन्नुपर्ने अवस्था अन्त्य हुन्छ।”

आगामी निर्वाचनपछिको पाँच वर्षे कार्यकालमा स्वास्थ्य बिमाको कभरेज व्यापक रूपमा विस्तार गरी कुनै पनि नागरिकले उपचारका लागि ऋण खोज्नुपर्ने वा घरखेत बेच्नुपर्ने अवस्था नआउने ग्यारेन्टी गर्नुपर्नेमा थापाले जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स