परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहले सीमासम्बन्धी दिएको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’सँग सम्बन्धित रहेको स्पष्टिकरण दिएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै मन्त्री खनालले यस्तो स्पष्टिकरण दिएका हुन् । उनले नेपाल–भारत सीमाका विभिन्न स्थानमा ‘क्रस बोर्डर अकुपेशन’ (सीमापार उपयोग–उपभोग)सम्बन्धी धेरै ठाउँमा विवाद रहेको पनि बताए । उनले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्रमार्फत म्यापिङको काम गरिरहेको समेत जानकारी दिए । उनले सीमासम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने समेत बताए। उनले सीमा क्षेत्रमा दुवै पक्षले आ–आफ्नो उपभोगमा रहेको भूभागमाथि दाबी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाइ पनि यही प्राविधिक यथार्थ र ‘क्रस बोर्डर अकुपेशन’को सन्दर्भसँग सम्बन्धित रहेको दोहोर्याए।
उनले भने, ‘नेपाल–भारतको सीमानाकामा क्रस बोर्डर अकुपेशनसहित के कति ठाउँमा समस्या वा विवाद रहेको छ भन्ने विषयमा संयन्त्रहरुले म्यापिङको कार्यहरु गरिरहेका छन् । यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ । प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरु हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्नसक्ने र हाल भारतको उपभोग र उपयोगको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ । आ–आफ्नो उपभोगमा रहेको दाबी दु्वै पक्षले गर्ने गरेका छन् । सम्माननीय प्रधानमन्त्रीज्युले संसदमा राख्नुभएको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ यही क्रस बोर्डर अकुपेशनसँग जोडिएको छ । यसमा यसमा मुल प्रश्न भनेको सीमा विवाद कसरी निरुपण गर्ने भन्ने नै हो । नेपाल–भारत सीमा द्विपक्षीय विषय हो । र नेपाल तथा भारतबीच रहेको घनिष्ट सम्बन्धको मर्म भावनाअनुरुप ऐतिहासिक सन्धीसम्झौता तथाम नक्साको आधारमा यस समस्याको समाधान कुटनीतिक संवाद र वातामार्फत गर्न नेपाल प्रतिवद्ध छ ।’
परराष्ट्रमन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने ? भन्ने रहेको उल्लेख गर्दै नेपाल–भारत सीमा विषय द्विपक्षीय मुद्दा भएकाले ऐतिहासिक सन्धि–सम्झौता, नक्शा तथा स्थापित आधारका आधारमा कुटनीतिक संवाद र वार्तामार्फत समाधान खोज्न नेपाल प्रतिवद्ध रहेको बताए ।
–न्युज एजेन्सी नेपाल

प्रतिकृया