लगानीका अन्योल हटाएर ऊर्जा विकासमा सबैले हातेमालो गर्नुपर्छ

लगानीका अन्योल हटाएर ऊर्जा विकासमा सबैले हातेमालो गर्नुपर्छ

वि.सं २०६० देखि जलविद्युत्का स–साना परियोजना आउन थाले । त्यसबेला एउटा परियोजना बनाउन आवश्यक पैसा जुटाउन र बैंकबाट ऋण लिन निकै गाह्रो थियो । आवश्यक पूर्वाधार र कच्चा पदार्थ जुटाउन उस्तै कठिन । आर्थिक वर्ष ०६६/६७ पछि नेपालमा विस्तारै जलविद्युत् परियोजना निर्माणले गति लिन थालेको हो । २०७२ मा सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अघि सारेपछि लगानीकर्ताहरूमा आफू सुरक्षित भएको महसुस हुन गयो र जलविद्युत् आयोजना निर्माण प्रक्रियाले तीव्रता पायो । अबको लगानीको क्षेत्र ऊर्जा रहेछ भनेर लगानीकर्ताहरू जलविद्युत्तर्फ आकर्षित भए ।

अहिले झन्डै ३२ सय मेगावाट विद्युत् उत्पादन हुन्छ । ३ हजार मेगावाटका आयोजना निर्माणाधीन छन् । केही आयोजना विद्युत् खरिद सम्झौता (पीपीए) सकेर निर्माण चरणमा छन् । २०७५ यता सरकारले पीपीए नरोकेको भए दोब्बर आयोजनाहरू निर्माण प्रक्रियामा सहभागी भइसकेका हुुन्थे । अहिले झन्डै १२ हजार मेगावाटका आयोजनाहरू पीपीए गरेर बसेका छन् । अरू २० हजार मेगावाटका आयोजनाहरूले लाइसेन्स लिएका छन् ।

सरकारलाई पनि धेरै विद्युत् उत्पादन हुँदा कहाँ बेच्ने भन्ने समस्या होला । मुलुुकमै खपत गर्न पनि पर्याप्त प्रसारण लाइन बन्न सकेका छैनन् । भारतमा निर्यात गर्न विद्युत् व्यापार सम्झौता नभएको स्थितिमा सरकारले पीपीए रोक्दा विद्युत् उत्पादन प्रक्रिया तदारुकतासाथ अघि बढ्न सकेन । ऊर्जा क्षेत्रमा निजी क्षेत्रको प्रवेशपछि धेरै नै प्रगति भएको छ । अहिलेसम्म झन्डै २६ सय मेगावाट विद्युत् उत्पादन निजी क्षेत्रले गरेको छ । निर्माणाधीन ३ हजार मेगावाटको आयोजनामा पनि ८० प्रतिशत हिस्सा निजी क्षेत्रकै छ ।

सरकार र निजी क्षेत्र दुुवैले मुलुुकलाई समृद्ध बनाउने एउटा आयामका रूपमा ऊर्जा क्षेत्र (जलविद्युत्) लाई लिएका छन् । तर, सरकारीस्तरबाट गर्नुपर्ने थुुप्रै नीतिगत र प्रक्रियागत कामहरू भएका छैनन् । पर्याप्त प्रसारण लाइनहरू बनेका छैनन् । २०७५ मा बनाइसक्ने भनिएका प्रसारण लाइन अहिलेसम्म बनेका छैनन् । कतिपय आयोजनाहरू निर्माण सकिएर विद्युत् उत्पादन प्रक्रियामा गए पनि प्रसारण लाइन अभावमा विद्युत् खेर गइरहेको अवस्था छ । विद्युुत् उत्पादन गर्ने प्रमुख क्षेत्र ग्रामीण भेग हुन् । विद्युत् आयोजना बनाउने सिलसिलामा २/४ दिनसम्म हिँडेर जानुपर्ने विकट ठाउँमा निजी क्षेत्रले आफ्नो लगानीमा बाटो बनाइदिएको छ । ती बाटो सर्वसाधारणले पनि उपभोग गरिरहेका छन् । तर, सरकारले आफैंले गर्छु भनेका काम पनि नगरिदिएर लगानीकर्तालाई निरुत्साहित गरिरहेको छ ।

पहिले नेपालमा ८३ हजार मेगावाट विद्युत् उत्पादन हुन्छ भनिए पनि अहिले नेपालमा सोलार र हाइड्रोपावर गरी २ लाख मेगावाट विद्युत उत्पादन हुन्छ भन्न थालिएको छ । जसमा सोलारबाट मात्र ४० हजार मेगावाट उत्पादन हुने भनिएको छ ।

र सोलार ४० हजार मेगावाटसम्म उत्पादन हुन्छ भन्न थालिएको छ । कति वर्षमा कति मेगावट विद्युत् क–कसले उत्पादन गर्ने भन्ने विषयमा सरकारले एउटा लक्ष्य लिएर मापदण्ड बनाइ अघि बढ्नुु उपयुुक्त हुन्छ ।

भारतसँग १० हजार मेगावाट विद्युत् बेच्ने सम्झौता भइसकेको छ । त्यस्तै बंगलादेशलाई विद्युत् बेच्न पनि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता भएको छ । नेपालमा पनि खपत बढाउने लक्ष्यसहित २०३५ सम्म २८ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य सरकारको छ । तर, अहिलेकै परिस्थितिमा तोकिएको समयमा लक्षित विद्युत् उत्पादन हुन्छ कि हुँदैन आशंकित छ । विद्युत् उत्पादन बढाउन सरकारले सबैभन्दा पहिले रोकिएको पीपीए खोल्नुपर्छ । आयोजनाको पीपीए रोकेर १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन हुँदैन ।

निजी क्षेत्रले आयोजना निर्माण गर्दा आफूले २० प्रतिशत सम्पत्ति (इक्विटी) हालेर ८० प्रतिशतसम्म बैंकबाट ऋण लिने गरेको छ । जलविद्युत् कम्पनीको १० प्रतिशत सेयर हिस्सा अनिवार्य रूपमा स्थानीयलाई दिनुपर्ने प्रावधान छ । अरू केही हिस्सा सर्वसाधारण (पब्लिक) लाई पनि बिक्री गर्न पाइन्छ । तर, पछिल्लो समय १८ महिनादेखि नेपाल धितोपत्र बोर्डले कम्पनीहरूको फाइल रोकेकाले पुँजी जुुटाउने कार्य कठिन भइरहेको छ ।

दुई वर्षअघिसम्म १ प्रतिशत भन्सार कर तिरेर मर्मतका सामान ल्याउन पाइन्थ्यो । तर, अहिले २८ प्रतिशतसम्म  पुर्छयाइएको । ऊर्जा उत्पादकहरूले पुरानै भन्सार मागिरहेको भए पनि सरकारले भने आश्वासन मात्रै दिएको छ तर, माग सम्बोधन गरेको छैन । निजी क्षेत्रलाई लगानी गर्न सक्ने वातावरण बनाइदिने काम सरकारको हो । लगानीको वातावरण सहज भए सर्वसाधारणले पनि क्षमताअनुसार लगानी गर्न सक्छन् ।

प्राकृतिक विपत्तिसँगै आन्तरिक तथा बाह्य कारणहरूले जलविद्युत् आयोजनाको निर्माणमा ढिलाइ हुँदा लागत बढ्दै गएको छ । अहिले सरकार २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने भनेर लागेको छ । त्यसका लागि ६१ खर्ब रुपैयाँ लागत चाहिन्छ । कसले कति लगानी गर्ने भन्ने तय छैन । लगानी आकर्षित गर्न पनि आन्तरिक तथा बाह्य अवरोधहरू ह्टाउनुुपर्ने हुन्छ । तर, बाह्य अवरोध हटाउन नसके पनि आन्तरिक समस्याहरू सल्टाउन सक्ने भए पनि सरकारले सकारात्मक भूमिका खेलिरहेको देखिँदैन । जलविद्युुत् आयोजनामा पर्ने रुख कटान अर्को ठूलो समस्या छ । रुख कटानको एउटा फाइल स्वीकृत गर्न वन तथा वातावरण मन्त्रालयले २–३ वर्ष लगाइदिन्छ । वनको समस्या सरलीकृत गरिनुु आवश्यक छ । त्यस्तै जग्गाको हदबन्दीले पनि आयोजना निर्माणमा समस्या थपिरेको छ । सरकारले नै जग्गा अधिग्रहण गरिदिनुु आवश्यक छ । आयोजनाको स्वीकृतिका लागि एकद्वार प्रणाली लागु गर्नुपर्छ ।

कोरोना महामारीपछि बाह्य युद्ध (रुस युुक्रेनलगायत) का कारण तेलको भाउ तेब्बरसम्म बढ्यो । तेल पनि पाइएन । भारतबाट विस्फोटक पदार्थ ल्याउनुपर्छ । तर, केही समयदेखि भारतले स्वीकृत दिएको छैन । दुई वर्षअघि बैंकहरूले ऋण नै दिएनन् । बर्सेनि बाढी र पहिरोले धेरै बाटा र पुलहरू भत्किए । सरकारले बाढीले क्षति पुर्याइएकाहरूलाई मात्र लक्षित कानुन बनाउने गरेको छ । हरेक पटकका बाढीमा फरक नीति बन्छन् । सरकारले परिस्थिति हेरेर स्थिर नीति बनाइदिनुपर्छ । काबुबाहिरका परिस्थितिले परियोजना बनाउन सकेनौैँभन्दा पनि सरकार एकोहोरोे निजी क्षेत्रलाई पेल्ने नीतिमा देखिएको छ ।

पश्चगामी विद्युत् विधेयक २०८०
विद्युत् ऐन २०४९ आएपछि नेपालका निजी क्षेत्र जलविद्युत् उत्पादनमा लागे । संशोधन प्रक्रियामा रहेको विद्युत् विधेयक २०८० मा निजी क्षेत्रको हात बाँध्न खोजिएको छ । प्रस्तावित विधेयकमा सरकारले एक सय मेगावाटसम्मका परियोजना सरकारी कम्पनीलाई र त्यसमाथिका आयोजना विदेशी कम्पनीलाई सिधै दिन पाउने भनिएको छ । त्यसो भए नेपाली जनताले कस्ता परियोजना लिने त ? कसैले नलिएका परियोजना निजी क्षेत्रले लिने हो ?

अहिले पीपीएमा पनि प्रतिस्पर्धा गर्नुपर्छ । पीपीए दरमा पनि विदेशीसँग प्रतिस्पर्धा कसरी सम्भव हुुन्छ ? हामीले विद्युत् ऐन २०४९ अनुसार लगानी गरेको हो । त्यसमा विद्युत् उत्पादन अनुमति ५० वर्षसम्मका लागि हुनेछ भनिएको छ । ५० वर्षपछि पनि सोही कम्पनीलाई दिइने भन्ने आधारमा दीर्घकालीन योजनासहित अघि बढेको हो । ऐनमा ५० वर्षको व्यवस्था तोकिएकाले झन्डै ५० लाख जनताले लगानी गरिसके । तर, प्रस्तावित विधेयकमा पुराना लगानीकर्ताका लागि ३५ वर्ष तोकिएको छ । र नयाँ लगानीकर्तालाई ४० र ४५ वर्ष भनिएको छ । दुःखका बेला परियोजना बनाएर मुुलुुकलाई उज्यालोतिर लग्ने लगानीकर्तालाई थप सुविधा दिनुुपर्नेमा उल्टै कटौती गर्न खोजिएको छ । यस्ता प्रावधानले नेपाली जनतालाई व्यवसाय नगर भने जस्तो देखिन्छ । विधेयकले प्रसारण लाइन बनाउन र विद्युत् निर्यात गर्न निजी क्षेत्रलाई दिने भनिएको छ । तर, विधेयकमा भएका प्रावधान निजी क्षेत्रले कहिल्यै पूरा गर्न सक्दैनन् । विधेयक जस्ताको त्यस्तै पास भयो भने नेपालका निजी क्षेत्र विद्युत् क्षेत्रबाट पलायन हुुन्छन् । लगानीकर्ताले विद्यमान कानुनअनुुसार लगानी गरेका हुुन्छन् । तर, कानुनमा बीचमै छेडखानी गरिन्छ भने लगानीकर्ताको मनोबल कसरी बढ्छ ? तसर्थ निजी क्षेत्रका गुनासा समेटेर मात्रै ऐन बनाइनुुपर्छ ।

आयोजना निर्माणका लागि लगानी धेरै चाहिन्छ । विदेशी लगानी ल्याउँदा पैसा ल्याउन र लैजाने सहज नीति हुनुुपर्छ । नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ दिई लगानीकर्ता आकर्षित गर्न सक्नुपर्छ । हरित ऊर्जा (ग्रिन इनर्जी) को अवसर देखाउनुपर्छ । विदेशी लगानीमा केही परियोजना अघि बढेका आधारमा भोलिका दिनमा लगानी सहज रूपले आउँछ भन्ने हुँदैन । लगानी वृद्धिका लागि सर्वसाधारणलाई प्रेरित गर्नुपर्छ । आयोजना निर्माण क्षेत्रका बासिन्दा सेयर पाएजस्तै प्रसारण लाइन बनाउने ठाउँका जग्गाधनीहरूलाई पनि जलविद्युत्मा लगानीको अवसर दिनुुपर्छ ।

सन् २०३५ सम्म सरकारले ऊर्जा दशक घोषणा गर्नुपर्छ र ऊर्जा विकासका लागि संकटकाल लगाउनुपर्छ । यसो गरियो भने निजी क्षेत्रले नै नेपालमा लगानी गर्न ‘मार्केटिङ’ गर्छ । अहिले सरकारकै नीति र ढिलासुस्तीका कारण जलविद्युत् क्षेत्रमा लगानी बढ्न सकेको छैन । अहिले प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीहरू आईपीओमा जान नपाउने भन्न थालिएको छ । यद्यपि सार्वजनिक लेखा समितिले रोकेको छैन । चुक्ता पुुँजीको १० प्रतिशत सेयर स्थानीयलाई दिनुपर्छ तर, धितोपत्र बोर्डले विलम्ब गरिदिँदा प्रक्रिया लम्बिरहेको छ । २५ प्रतिशत सेयर ऋण नतिरी बेच्न नपाइने भन्न थालिएको छ । यस्ता विषय कसको स्वार्थमा आउँछन् बुझ्न सकिएको छैन । कि त ५१ प्रतिशत संस्थापक सेयर बेच्न पाउँदैनौं भन्नुु सक्नुुपर्यो । त्यसका लागि बैंक, बिमा कम्पनीमा जस्तै लगानीकर्ताको अवधि तोकिनु भएन । सरकार परिवर्तन हुँदा नीति परिवर्तन हुनु भएन । स्थिर र दीर्घकालीन नीति कार्यान्वयन भएमा मात्रै लगानीकर्ता मनोबल बलियो हुुन्छ र लगानी पनि भित्रिन्छ ।

आईपीओ पाइपलाइनमा रहेका जलविद्युत् कम्पनी

क्रम संख्याकम्पनीसेयर संख्यासेयर रकम
याम्बलिङ हाइड्रोपावर२८०,०००२८०,०००,०००
विकास हाइड्रोपावर कम्पनी४,४५४,५९६४४५,४५९,६००
रिज लाइन इनर्जी५,८०४,२०१५८०,४२०,१००
लाफिङ बुुद्ध पावर नेपाल६,५७७,०००६५७,७००,०००
कालिञ्चोक हाइड्रोपावर७५०,०००७५,०००,०००
हिम रिभर पावर२,२६०,०००२६६,०००,०००
लोअर इख्र्वा हाइड्रोपावर२,८०५,७५०२८०,५७५,०००
सानिमा हाइड्रोपावर१,४७०,०००१४७,०००,०००
भुजुङ हाइड्रोपावर१,४५५,०००१४५,५००,०००
१०सोलु हाइड्रोपावर२०,०००,०००२,०००,०००,०००
११सान्भी इनर्जी३,७९०,०००३७९,०००,०००
१२हिम स्टार ऊर्जा कम्पनी१,११९,०००१११,९००,०००
१३रिचेत जलविद्युत् कम्पनी१,१७६,४५०११७,६४५,०००
१४माबिलुङ इनर्जी१,८९०,५३०१८९,०५३,०००
१५टक्सार पिखुला खोला४,२३०,६६८४२३,०६६,८००
१६दरम खोला हाइड्रो इनर्जी३,९५०,०००३९५,०००,०००
१७बेनी हाइड्रोपावर२,०८०,०००२०८,०००,०००

ऊर्जा क्षेत्रमा पनि दक्ष जनशक्तिको पनि अभाव छ । पढेका इन्जिनियरहरू युरोप र अमेरिका जान थाले । ओभरसियरहरूको पनि अभाव छ । थुप्रै परियोजना छिमेकी देशका कामदारबाट अघि बढाइएको छ । किन यस्तो परिस्थिति निर्माण भइरहेको छ भन्नेतर्फ राज्यले ध्यान दिनुुपर्छ । ऊर्जा क्षेत्र चल्यो भने मात्र कलकारखाना, रेस्टुरेन्ट र अन्य व्यवसायहरू चल्न गई अर्थतन्त्रमा आमूल सुधार आउने हो । २ हजार मेगावाट विद्युत् खपत हुँदा खुसियाली बाँडेर बस्नेभन्दा पनि कम्तिमा १२ महिना पुग्ने विद्युत् उत्पादन अर्थात् विनाआयात विद्युत् माग पूर्ति गर्ने स्थिति बनाउनुुपर्छ । हिउँदमा १३ हजार मेगावाट विद्युत् खपत हुन्छ भने ५२ हजार मेगावाट उत्पादन गर्नुपर्छ । नेपालमा उत्पादित विद्युत्ले आन्तरिक खपत नै धान्न नसक्ने अवस्था छ । त्यसैले अहिले विद्युत् बेच्नेभन्दा किन्ने धेरै छ । सबैलाई विद्युतीय सामग्री (विद्युतीय सवारीसाधन, इन्डक्सन चुलो, पम्प आदि) प्रयोगमा प्रेरित गर्नुप¥यो र आवश्यकताअनुसार चार्जिङ स्टेसन बनाउनुुपर्यो । यद्यपि वर्षाको समयमा विद्युत् खपत भन्दा बढी उत्पादन हुने गरेको छ ।

हकप्रद निष्कासनको पाइपलाइनमा रहेका हाइड्रोपावर कम्पनी

क्रम संख्याकम्पनीस्वाप रेसियोसेयर कित्तारकम
बाराही हाइड्रोपावर१ः१२,५००,०००२५०,०००,०००
दोर्दी खोला जलविद्युत कम्पनी१ः११०,५४२,६०४१,५०४,२६०,४००
राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन१ः१६,१२७,९३८६१२,७९३,८००
रिभर फल्स पावर१ः१७,०००,०००७००,०००,०००
शिवश्री हाइड्रोपावर१ः११४,७६४,०००१,४७६,४००,०००
खानी खोला हाइड्रोपावर१ः१४,६५७,१४३४६५,७१४,३००
तेह्रथुम पावर कम्पनी१ः१४,०००,०००४००,०००,०००
पिपुल्स पावर१ः०.५३,१६३,०००३१६,३००,०००
छ्याङदी हाइड्रोपावर१ः१३,८६९,७७५३६८,९७७,५००
१०बरुण हाइड्रोपावर१ः१५,३५८,१५०५३५,८१५,०००
११जोशी हाइड्रोपावर१ः०.६५२,४१४,१००२४१,४१०,०००

छिमेकी देशहरूले विद्युत् उत्पादनमा ९० प्रतिशतसम्म प्रगति गरिसके । तर, हामी भर्खर वामे सर्दै छौं । भारतले ५०० मेगावाटको सोलार उत्पादन थालिसक्यो । तर, हामी ऊर्जामार्फत समृद्धि बनाउने भनेर हेरेकोहेर्यै छौं । १० हजार मेगावाट विद्युत् खरिद गर्न तयार भएको भारत समयमा नेपालले विद्युत् उपलब्ध गराएन भने विकल्प खोज्छ । त्यसैले सतहमा देखिएका सबै समस्यालाई निदान गरेर ऊर्जा विकासमा सबै पक्षले हातेपालो गर्नुपर्नेछ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का गणेश कार्कीसँग सम्झना बरुवालले गरेको कुराकानीमा आधारित
यो लेख नेपाल आर्थिक पत्र संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र २०८१ बाट लिइएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स