रसुवाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत चिलिमे क्षेत्रमा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिका कारण चिलिमे जलविद्युत कम्पनी लिमिटेडका संरचनामा ठूलो क्षति पुगेको छ। बाढीका कारण २२.१ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको पावरहाउस सुरुङ क्षेत्रमा कार्यरत ६ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
कम्पनीले बाढीबाट चिलिमे क्षेत्रमा सडक सञ्जाल, विद्युत्, पूर्वाधार, सञ्चार सेवा, स्थानीय बस्ती तथा अन्य सार्वजनिक संरचनामा गम्भीर क्षति पुगेको जनाएको छ। विपत्तिका कारण प्रभावित क्षेत्रमा आवतजावत, सञ्चार सम्पर्क तथा उद्धार कार्यसमेत कठिन बनेको कम्पनीको भनाइ छ।
चिलिमे जलविद्युत केन्द्रको विद्युतगृहमा पूर्ण रूपमा क्षति पुगेकाले तत्काल सञ्चालन गर्न सकिने अवस्था नरहेको कम्पनीले जनाएको छ।
यसैगरी, चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा स्थापना भएको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडअन्तर्गतको १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर प्लान्टमा पनि पूर्ण रूपमा क्षति पुगेको कम्पनीले जानकारी दिएको छ।
कम्पनी व्यवस्थापनले पावरहाउसमा फसेका कर्मचारीको उद्धारलाई प्राथमिकतामा राखेर अधिकतम प्रयास भइरहेको जनाएको छ। साथै प्रभावित क्षेत्रमा विद्युत्, सडकलगायतका पूर्वाधारको मर्मतसम्भारका लागि पनि आवश्यक प्रयास भइरहेको कम्पनीले जनाएको छ।
विपद्को विषम परिस्थितिमा उद्धार तथा पूर्वाधार पुनःस्थापनाका लागि सम्बन्धित सरोकारवाला निकायबाट आवश्यक सहयोग उपलब्ध गराइदिन कम्पनीले अनुरोध गरेको छ।


प्रतिकृया