एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ऋणपत्र जारी गर्दै
एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि १० वर्ष अवधि तथा वार्षिक ७.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ सार्वजनिक निष्कासन गर्ने भएको छ। बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो, जसको कुल मूल्य ३ अर्ब रुपैयाँ रहेको छ। यसका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट माघ १५ गते स्वीकृति प्राप्त गरिसकेको छ।
बैंकले निष्कासन गर्न लागेको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ, भने बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ। सर्वसाधारणका लागि छुट्याइएको हिस्सामध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ। यो ऋणपत्र खरिदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
निष्कासन खुला भएको मितिबाट फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ, तर यदि सो अवधिभित्र सबै कित्ताका लागि आवेदन नपरेको खण्डमा निष्कासन अवधि चैत ३ गतेसम्म लम्बिन सक्नेछ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी सि-आस्बा मार्फत आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले यो ऋणपत्रलाई ‘ICRA NP Issuer Rating AA-’ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतालाई उच्च सुरक्षित रहेको संकेत गर्दछ। ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिनेछ।