पेट्रोलियम पदार्थको मूल्य घटेको १ महिना बित्दा पनि सार्वजनिक यातायातको भाडा घटेन, कहिले घट्छ ?

पेट्रोलियम पदार्थको मूल्य घटेको १ महिना बित्दा पनि सार्वजनिक यातायातको भाडा घटेन, कहिले घट्छ ?
सांकेतिक तस्बिर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन नहुँदा यात्रुहरू महँगो भाडा तिर्न बाध्य भएका छन्।

निगमले असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएपछि संघीय सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरिसकेको छ। तर, वाग्मती प्रदेश सरकारअन्तर्गतको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले प्रदेशभित्र तथा काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा भने अहिलेसम्म घटाएको छैन।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले प्रदेश सरकारले भाडा समायोजनमा आवश्यक चासो नदेखाएको बताए। उनका अनुसार संघीय सरकारले अन्तरप्रदेशको भाडा समायोजन गरिसकेको भए पनि प्रदेश सरकारले आफ्नो अधिकारक्षेत्रभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा अझै परिमार्जन गरेको छैन।

उनले भने, “हामीले पटक–पटक प्रदेश सरकारलाई वैज्ञानिक ढंगले भाडा समायोजन हुनपर्ने माग राख्दै आइरहेका छौँ। वाग्मती प्रदेशसहित अन्य प्रदेश सरकारले पेट्रोलियम पदार्थको मूल्य घट्दा समेत भाडा समायोजन गर्नमा चासो देखाएका छैनन्। सर्वसाधारणले महँगो मूल्यमा यात्रा गर्न बाध्य भइरहेका छन्। संघीय सरकारले जस्तै प्रदेशले पनि तत्कालै भाडा समायोजन गर्न जरुरी भइसकेको छ।”

अध्यक्ष सिटौलाले कोसी प्रदेशबाहेक अन्य प्रदेश सरकारले प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा समायोजनमा खासै प्राथमिकता नदिएको पनि दाबी गरे।

यता, वाग्मती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले भने भाडा समायोजन प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ। मन्त्रालयका वरिष्ठ अधिकृत खगेन्द्र पौडेलले मन्त्रालयको नाम र जिम्मेवारी हेरफेरका कारण प्रक्रिया केही ढिलो भएको बताए।

उनले भने, “संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गर्ने गर्छ। तर, प्रदेशको भाडा समायोजन प्रक्रिया केही लामो भएकाले पनि केही समय लागेजस्तो भएको हो। अबको केही दिनभित्रै भाडा समायोजन गर्ने गरी काम गरिरहेका छौँ। वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा छिट्टै टुंगोमा पुर्‍याउनेछौँ।”

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स