नेपालगञ्ज, सुर्खेतलगायत पश्चिम नेपालका क्षेत्रमा देखिएका विद्युत् अवरोध, न्यून भोल्टेज र मिटर अभावको समस्या समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ दुई दिनसम्म फिल्डमै खटिएका छन्। उनले सम्बन्धित सरोकारवालासँग छलफल गर्दै समस्या पहिचान र समाधानका उपायबारे आवश्यक निर्णय गरेका छन्।
ऊर्जा मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश प्रमुख, वितरण केन्द्रका अधिकारी, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा स्थानीयवासीसँग भएको छलफलमा पश्चिम नेपालको विद्युत् वितरण प्रणाली पुरानो र जीर्ण बन्दै गएको निष्कर्ष निकालिएको छ। चार दशकअघि निर्माण गरिएका संरचनाले हालको विद्युत् माग धान्न नसकेको तथा फिडर, ट्रान्सफर्मर र अन्य वितरण उपकरणको अभावले विद्युत् आपूर्ति प्रभावित भइरहेको छलफलमा औंल्याइएको छ।
छलफलका क्रममा नेपालगञ्ज क्षेत्र पश्चिमबाट आउने र पूर्वतर्फ जाने प्रसारण प्रणालीको अन्तिम बिन्दुमा रहेकाले प्राविधिक दबाब बढी रहेको, पुराना उपकरणको गुणस्तर कमजोर भएको र वितरण सञ्जालको व्यापक स्तरोन्नति आवश्यक रहेको निष्कर्षसमेत निकालिएको छ।
मन्त्री श्रेष्ठको पहलपछि कर्णाली प्रदेशमा लामो समयदेखि देखिएको विद्युत् मिटर अभाव तत्काल समाधान हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार माग गरिएका पाँच हजार मिटरमध्ये दुई हजार मिटर आपूर्ति भई जडान प्रक्रिया सुरु भइसकेको छ भने बाँकी तीन हजार मिटर सात दिनभित्र उपलब्ध गराइनेछ।
त्यस्तै, सुर्खेतमा देखिएको न्यून भोल्टेजको समस्या समाधान गर्न वितरण प्रणाली स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरी आगामी केही महिनाभित्र काम सुरु गर्ने तयारी गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपालगञ्ज क्षेत्रमा भरपर्दो, सुरक्षित र गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्न आवश्यक बजेट, स्पष्ट कार्ययोजना र पूर्वाधार सुदृढीकरणका कार्यक्रम पनि तत्काल अघि बढाइने बताइएको छ।
नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणाली लामो समयदेखि स्तरोन्नति हुन नसक्दा बढ्दो विद्युत् भार व्यवस्थापन गर्न कठिन भएको जनाएको छ। सातौँ विद्युतीकरण आयोजना सम्पन्न भए पनि वितरण प्रणालीमा अपेक्षित सुधार हुन नसकेको, विद्युत् माग वार्षिक करिब १५ प्रतिशतले बढिरहेको तथा कोहलपुर राष्ट्रिय प्रसारण लाइन र टनकपुर आपूर्तिको अन्तिम बिन्दुमा रहेको सञ्जालमा बढ्दो चापका कारण सेवा प्रभावित भएको जानकारी दिइएको छ।
यसका साथै न्यू नेपालगञ्ज सबस्टेशन निर्माणमा भएको ढिलाइ, फिडर ओभरलोड, ट्रिपिङ, न्यून भोल्टेज, पुराना लाइन तथा अपर्याप्त ट्रान्सफर्मरका कारण विद्युत् आपूर्तिमा समस्या देखिएको निष्कर्षसमेत निकालिएको छ।
मन्त्री श्रेष्ठले निर्माणाधीन न्यू नेपालगञ्ज सबस्टेशन यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक समन्वय गरिने बताएका छन्। साथै थप क्षमताका ट्रान्सफर्मर जडान, वितरण सञ्जाल विस्तार, पुराना लाइन र कन्डक्टर स्तरोन्नति, नयाँ फिडर निर्माण तथा प्रभावकारी लोड व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने र मध्यकालीन तथा दीर्घकालीन योजना बनाएर कार्यान्वयन गरिने जानकारी दिएका छन्।
फिडर ओभरलोड, ट्रिपिङ र न्यून भोल्टेजलगायतका प्राविधिक समस्याको विस्तृत अध्ययन गरी तत्काल कार्यान्वयनमा जाने स्पष्ट पार्दै मन्त्री श्रेष्ठले अत्यधिक गर्मीका कारण नागरिक, उद्योग–व्यवसाय र कृषि क्षेत्रमा परेको असरप्रति सरकार गम्भीर रहेको बताएका छन्।
“पश्चिम नेपालका नागरिकले भरपर्दो, सुरक्षित र गुणस्तरीय विद्युत् सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता हो। मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण समन्वित रूपमा काम गर्दै यी समस्या स्थायी रूपमा समाधान गर्नेछौं,” उनले भने।

प्रतिकृया