उर्जामन्त्री खड्काले भने, “म माथि मन्त्रालयमै हातपात भयाे तर सुरक्षाकर्मी समयमा आएनन्”
गत शुक्रबार साँझ उर्जामन्त्री दीपक खड्कामाथि गोरखाका हरि पोखरेलले हातपात प्रयास गरेको घटनाले मन्त्रालयमा सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। खड्काका अनुसार साँझ ६ बजे मन्त्रालयको भर्याङमा निस्कने क्रममा पोखरेलले हातपात प्रयास गरे पनि समयमा सुरक्षाकर्मी उपस्थित नभएको गुनासो गृहमन्त्री रमेश लेखकलाई गरेका थिए।
यस घटनाबारे बिहीबार पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसका मन्त्रीहरूलाई बुढानीलकण्ठस्थित आफ्नो निवासमा बोलाएर छलफल गरे। सभापतिसँगको बैठकमा उर्जामन्त्री खड्काले गृहमन्त्री लेखकलाई मन्त्रालयको सुरक्षा व्यवस्थाबारे प्रश्न गर्दै सोधे, “किन मन्त्रालयमै सुरक्षा कमजोर भयो?” खड्काको प्रश्न नसकिँदै गृहमन्त्री लेखकले, “शुक्रबारको घटना बल्ल आज भन्नुभएको? मलाई समयमा किन जानकारी दिनुभएन?” भन्दै उल्टो प्रश्न गरेका थिए। खड्काले आफ्नो कुरा सच्याउँदै घटना सामान्य भएकाले जानकारी नदिएको तर सबैलाई सतर्क रहन आग्रह गरेको स्पष्ट पारे।
उर्जा मन्त्रालय स्रोतका अनुसार ती व्यक्ति पत्रकार बनेर मन्त्रीको कार्यकक्षमा पुगेका गोरखाको अजिरकोट गाउँपालिका-५, मुच्चोकका हरि पोखरेल थिए। पोखरेल २०७९ सालको निर्वाचनमा गोरखा क्षेत्र नं. २ (ख) बाट गण्डकी प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार रहेका थिए।