ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विदेशबाट समेत लोडसेडिङको गुनासो आउने गरेको बताएका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो गुनासो सञ्जालमार्फत भ्रम फैलाउने नियतले भइरहेको दाबी गरे।
“विदेशबाट फोन आउँछ, म आफैं उठाउँछु। बारम्बार एउटै नम्बरबाट फोन आउँछ, राति १२ बजे पनि। भन्छन्– यहाँ लाइन गयो। तर बुझ्दा ती स्थानमा बत्ती गएको नै हुँदैन,” उनले भने, “यसरी सामाजिक सञ्जाल र फोनमार्फत गलत सूचना फैलाउने कार्य भइरहेको छ।”
मन्त्री खड्काले लोडसेडिङबारे सामाजिक सञ्जालमा फैलिएको चर्चा निराधार भएको बताए। उनले भने कि विद्युत् अवरुद्ध हुनुको मुख्य कारण नियमित मर्मत वा प्राकृतिक कारणहरू हुन्, उत्पादनको कमीले होइन। आवश्यकता अनुसार विद्युत् आयात गरिएकाले लोडसेडिङ नभएको र अहिले नेपाल विद्युत् निर्यातसम्म गरिरहेको अवस्था रहेको उनले जनाए। मन्त्री खड्काले उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति भइरहेको र आगामी १० वर्षमा आन्तरिक माग साढे १३ हजार मेगावाट पुग्ने अनुमान व्यक्त गरे। सामाजिक सञ्जालको दुरुपयोग रोक्न समेत उनले आग्रह गरे।















प्रतिकृया