चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस सुरु

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस सुरु

प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ। मतदातामा चुनावी उत्साह देखिन थालेको छ। स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस सुरु भएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा छवटा निर्वाचन क्षेत्र रहेका छन्, जसमा एक सय १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नं १ मा १८ जना, क्षेत्र नं २ मा १७, क्षेत्र नं ३ मा २१, क्षेत्र नं ४ मा २१, क्षेत्र नं ५ मा २२ र क्षेत्र नं ६ मा २० जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगमा उम्मेदवारी दर्ता भएसँगै जिल्लाका छवटै निर्वाचन क्षेत्रमा चुनावी चहलपहल सुरु भएको हो। निर्वाचन प्रचारप्रसारको औपचारिक सुरुआतअगावै उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको पाइन्छ।

मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले मतदातासँग भेटघाटलाई तीव्रता दिइरहेका छन्। उनीसँगै श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर पनि मतदाताको घरदैलोमा भेटिन्छन्। बिहानैदेखि उम्मेदवारहरू मतदाताको घरआँगनमा पुग्न थालेपछि स्थानीयमा चुनावी सरगर्मी बढेको नेपाली कांग्रेस मोरङ–३ का क्षेत्रीय सचिव राजेन्द्रबहादुर अधिकारीले बताएका छन्। उनका अनुसार नयाँ मतदातालाई कांग्रेसको पक्षमा मत हाल्ने वातावरण बनाउने लक्ष्यसहित शिक्षा, स्वास्थ्य, रोजगार र प्रविधिकेन्द्रित रणनीति अघि सारिएको छ।

यस्ता कार्यक्रमले प्रतिस्पर्धी दलका उम्मेदवारभन्दा कांग्रेसका उम्मेदवार लोकप्रिय हुने आशावादी रहेको अधिकारीले बताएका छन्। यसपटक राम्रो उम्मेदवार छानेर मतदान गर्ने मोरङ क्षेत्र नं २ अमरदहका विदुर आचार्यले बताएका छन्। जनभावना बुझ्ने नेता नै मतदाताको रोजाइमा पर्ने उनको भनाइ छ। “समय फेरिएको छ, भोट हालिसकेर पछुताउनुभन्दा त्यसअघि नै सचेत भएर भोट हाल्ने योजनामा हामी छौँ,” मोरङ क्षेत्र नं ४ कसेनीका अमिन चौधरीले बताएका छन्।

मोरङ क्षेत्र नं १ केराबारीमा भेटिएका ज्येष्ठ नागरिक शङ्कर पोख्रेलले अर्का एक व्यक्तिसँग चुनावी बहस गर्दै यसपटक विकासप्रेमी उम्मेदवारलाई मत हाल्नुपर्ने र चुनाव जितेर गाउँ बिर्सने उम्मेदवारलाई मत नदिने बताए।

जिल्लामा यसपटक सात लाखभन्दा बढी मतदाता पुगेका छन्। निर्वाचन आयोगका अनुसार अघिल्लो निर्वाचनको तुलनामा यसपटक मोरङमा ४७ हजार ५२५ मतदाता थपिएका हुन्। मोरङमा पुरुष मतदाता तीन लाख ९९ हजार ६८६ र महिला तीन लाख ८३ हजार ३५७ रहेका छन्। निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार मोरङमा कुल मतदाता संख्या सात लाख ८३ हजार ५० पुगेको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स