डीडीसीको आक्रामक बजारीकरणले बढायो आम्दानी, कृषक भुक्तानीको दूरी ७ महिनाबाट २–३ महिनामा झारियो

डीडीसीको आक्रामक बजारीकरणले बढायो आम्दानी, कृषक भुक्तानीको दूरी ७ महिनाबाट २–३ महिनामा झारियो
Advertisement Ads

दुग्ध विकास संस्थान ‘डीडीसी’ले आन्तरिक सुधार, आक्रामक बजारीकरण र संस्थानमा रहेको मौज्दातको खपतमार्फत बिक्री आम्दानी बढाउँदै कृषक भुक्तानीमा सुधार गरेको छ। पछिल्लो तीन महिनामा कृषक भुक्तानीको बक्यौता ७२ करोड रुपैयाँबाट करिब ३५ करोड रुपैयाँमा सीमित गर्न संस्थान सफल भएको छ।

कृषक भुक्तानीको अवधि समेत ७ महिनासम्म पुगेको अवस्थाबाट घटाएर २–३ महिनामा ल्याइएको छ। अब उक्त भुक्तानी दूरीलाई अझै घटाएर एक महिनामा झार्ने लक्ष्यसहित काम भइरहेको छ।

कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीको नेतृत्वमा संस्थानले पछिल्लो अवधिमा विभिन्न सुधारका काम अघि बढाएको जनाएको छ। त्यसक्रममा संस्थानमा मौज्दात रहेको धुलो दुध र मखनको बिक्रीमार्फत आम्दानी बढाइएको छ।

संस्थानमा मौज्दात रहेको ६०० मेटन धुलो दुध र ४५० मेटन मखन खपत गराई बिक्री आम्दानी बढाइएको छ। त्यस्तै, दैनिक बिक्री आम्दानी ६० लाख रुपैयाँबाट बढाएर ९० लाख रुपैयाँ पुर्‍याइएको छ। यसरी बढेको थप रकमको सत्प्रतिशत कृषक भुक्तानीमा लगाइएको संस्थानले जनाएको छ।

कृषक भुक्तानीलाई प्राथमिकतामा राख्दै संस्थानका अनिवार्यबाहेकका अन्य खर्चलाई न्युनिकरण गरिएको छ। यसका साथै निजी क्षेत्रसँगको समन्वयमा काठमाडौं उपत्यकामा ८ वटा डेडिकेटेड सेल्स काउन्टर सञ्चालनमा ल्याइएको छ।

संस्थानले बाँकी बक्यौता असुलीलाई समेत प्राथमिकतामा राखेको छ। बक्यौता रकम उठाउन दृढता तथा कठोरताका साथ काम गरिएको जनाइएको छ।

यसैगरी, कर्मचारीलाई दिइँदै आएको सहुलियत दुध तथा घ्यूको सुविधामा कटौती गरी वार्षिक ३ करोड रुपैयाँको अतिरिक्त बचत गरिएको छ। उक्त कदमले पनि कृषक भुक्तानीलाई सहज बनाउन सहयोग पुगेको संस्थानको भनाइ छ।

संस्थानले पछिल्लो सुधारका क्रममा नेपाल सरकारबाट कुनै पनि किसिमको सहुलियत कर्जा तथा अनुदान नलिएको जनाएको छ। संस्थानको आन्तरिक सुधार र आक्रामक बजारीकरणबाट सिर्जित आम्दानीकै आधारमा कृषक भुक्तानीलाई सहजीकरण गरिएको बताइएको छ।

अब कृषक भुक्तानीको दूरीलाई २–३ महिनाबाट घटाएर एक महिनामा झार्ने लक्ष्यअनुसार संस्थानले काम अघि बढाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स