माछा उत्पादनदेखि प्रशोधनसम्म गर्ने कम्पनी विराट एग्रीले आईपीओ ल्याउँदै, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल

माछा उत्पादनदेखि प्रशोधनसम्म गर्ने कम्पनी विराट एग्रीले आईपीओ ल्याउँदै, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल
Advertisement Ads

विराट एग्री लिमिटेडले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी थालेको छ। यसका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवा तथा आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने गरी दुईपक्षीय सम्झौता गरेको छ।

असोज १२ गते भएको सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले आफ्नो ‘IDEA to IPO’ सेवा अन्तर्गत विराट एग्रीलाई कम्पनीको प्रचलित कानुनबमोजिम आईपीओ निष्काशनको चरणसम्म आवश्यक पर्ने संस्थागत परामर्श सेवा उपलब्ध गराउनेछ।

इटहरी–१३, सुनसरीमा कारोबार कार्यालय रहेको विराट एग्री कृषि तथा एक्वाकल्चर क्षेत्रमा व्यावसायिक, आधुनिक तथा दिगो ढाँचामा काम गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो। कम्पनीले मोरङ र सुनसरीमा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत एकीकृत कृषि तथा व्यावसायिक मत्स्यपालन गर्दै आएको जनाएको छ।

कम्पनीले इटहरी–१३ स्थित खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्ट सञ्चालन गर्दै आएको छ। उक्त प्लान्टबाट आफ्ना परियोजना तथा बजारका लागि विभिन्न प्रकारका तैरिने तथा डुब्ने माछाका दाना उत्पादन तथा बिक्री वितरण हुँदै आएको कम्पनीले जनाएको छ।

आईपीओबाट जुटेको पुँजी विस्तारमा प्रयोग गर्ने योजना

विराट एग्रीले प्रस्तावित आईपीओबाट प्राप्त पुँजीलाई उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्ने योजना बनाएको छ।

कम्पनीले पाङ्गास माछाको फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट स्थापना गर्ने तयारी गरेको छ। आधुनिक प्रविधिबाट पाङ्गास माछा प्रशोधन गरी फिलेट तथा अन्य मूल्य अभिवृद्धि भएका माछाजन्य उत्पादनको उत्पादन, प्याकेजिङ तथा बजारीकरण गर्ने लक्ष्य कम्पनीको छ।

त्यस्तै, हाल सञ्चालनमा रहेको फ्लोटिङ फिस फिड प्लान्टका अतिरिक्त माछा तथा पशुपन्छीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक पेलेट फिड प्लान्ट स्थापना गर्ने योजना पनि कम्पनीले अघि सारेको छ।

कम्पनीले कृषि तथा मत्स्यपालन क्षेत्रको सम्पूर्ण मूल्य शृङ्खलालाई एकीकृत गर्दै उत्पादन, प्रशोधन, प्याकेजिङ र बजारीकरणलाई थप व्यवस्थित तथा व्यावसायिक बनाउने दीर्घकालीन योजना अघि बढाएको जनाएको छ।

‘Farm to Market’ अवधारणामा काम गर्ने

विराट एग्रीले ‘Farm to Market’ अवधारणाअन्तर्गत आफ्नै फार्ममा माछा उत्पादनदेखि माछाको दाना उत्पादन, आधुनिक प्रशोधन तथा फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनसम्मका गतिविधिलाई एउटै एकीकृत व्यावसायिक चक्रमा जोड्ने योजना बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स