बाढीले दुई हाइड्रोपावर कम्पनीको विद्युत् उत्पादन र प्रसारण प्रभावित

बाढीले दुई हाइड्रोपावर कम्पनीको विद्युत् उत्पादन र प्रसारण प्रभावित
Advertisement Ads

बाढीका कारण दुई जलविद्युत् कम्पनीका आयोजनाबाट हुने विद्युत् उत्पादन तथा प्रसारण प्रभावित भएको छ। दरमखोला हाइड्रो इनर्जी लिमिटेड र माउण्टेन इनर्जी नेपाल लिमिटेडका जलविद्युत् आयोजनामा बाढीका कारण असर परेको हो।

दरमखोला हाइड्रो इनर्जीले बागलुङमा सञ्चालन गरिरहेको ९.६ मेगावाट क्षमताको दरमखोला हाइड्रो इलेक्ट्रिक परियोजनाको विद्युत् उत्पादन तथा प्रसारण असोज ९ गते राति ८ बजेपछि बन्द भएको जनाएको छ। कम्पनीका अनुसार असोज ९ गते आएको बाढीका कारण आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेसनसम्मको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुगेको छ। प्रसारण लाइनमा क्षति पुगेपछि आयोजनाबाट विद्युत् उत्पादन तथा प्रसारण अवरुद्ध भएको हो। तर, बाढीका कारण आयोजनाको हेडवर्क्स, पावरहाउस तथा अन्य संरचनामा ठूलो क्षति नभएको कम्पनीले जनाएको छ। प्रसारण लाइनको मर्मत सम्पन्न भएपछि विद्युत् उत्पादन पुनः सञ्चालन गरिने कम्पनीले जनाएको छ।

त्यस्तै, माउण्टेन इनर्जी नेपाल लिमिटेडले सञ्चालन गरिरहेको ४२ मेगावाट क्षमताको मिष्ट्री खोला जलविद्युत् आयोजनाबाट हुने विद्युत् प्रसारण पनि अवरुद्ध भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको आयोजनाको विद्युत् प्रसारण नेपाल विद्युत् प्राधिकरणको दाना–कुश्मा २२० केभी प्रसारण लाइनमार्फत हुँदै आएको छ। कालिगण्डकी नदीमा आएको भीषण बाढीपहिरोका कारण उक्त प्रसारण लाइनको टावरमा क्षति पुगेपछि आयोजनाबाट उत्पादित विद्युत् प्रसारण अवरुद्ध भएको कम्पनीले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणको असोज १२ गतेको पत्रअनुसार दाना–कुश्मा २२० केभी प्रसारण लाइनको टावरमा क्षति पुगेपछि मिष्ट्री खोला आयोजनाको विद्युत् प्रसारण प्रभावित भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स