बाढीपहिरोले विद्युत् प्रणालीमा असर, हिउँदमा माग कसरी धानिएला ?

बाढीपहिरोले विद्युत् प्रणालीमा असर, हिउँदमा माग कसरी धानिएला ?
Advertisement Ads

नेपाल विद्युत् प्राधिकरणले बाढीपहिरोबाट प्रभावित जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनाको पुनःस्थापनाको काम तीव्र बनाएको छ। प्रभावित संरचनाको मर्मतसँगै विद्युत् आपूर्तिलाई व्यवस्थित र सन्तुलित बनाउन प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको जनाएको छ। बाढीका कारण केही जलविद्युत् आयोजना उत्पादन गर्न सक्ने अवस्थामा रहे पनि प्रसारण संरचनामा क्षति पुगेका कारण विद्युत् प्रणालीमा जोडिन सकेका छैनन्।

चार दिनको वर्षापछि आएको बाढीले कुश्मा–दाना २२० केभी प्रसारण लाइनमा क्षति पुर्‍याउँदा सात जलविद्युत् आयोजनाको कुल १९०.४ मेगावाट विद्युत् प्रसारण प्रभावित भएको छ। प्रभावित आयोजनामा निलगिरि–१ (३८ मेगावाट), निलगिरि–२ (२१ मेगावाट), मिस्त्री (४२ मेगावाट), थापाखोला (१३.६ मेगावाट), घारखोला (१४.८ मेगावाट), रेलेखोला (६ मेगावाट) र घलेम्दी (५ मेगावाट) रहेका छन्। प्रसारण संरचनाको क्षति मर्मत गरी यी आयोजनाको विद्युत् पुनःप्रवाह गर्न केही समय लाग्ने अनुमान गरिएको छ।

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको दाना–कुश्मा २२० केभी प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध रहेकाले प्रभावित संरचनाको विस्तृत निरीक्षण गर्न कठिनाइ भएको र थप विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ। राहुघाट जलविद्युत् केन्द्रबाहेक थप १२७.८ मेगावाट क्षमताका आयोजनामा पनि प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। आवश्यक मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत ती आयोजनाको विद्युत् केही दिनभित्र सञ्चालनमा ल्याउन सकिने प्राधिकरणको भनाइ छ।

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ भने टर्बाइन फ्लोरमा पानी पसेको छ। पानी सफा गरी आयोजना पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ। आयोजनाको स्वीचयार्ड भने सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको छ।

प्राधिकरणका अनुसार बाढीका कारण अवरुद्ध सेती–मादी करिडोरका २६२ मेगावाट र मस्र्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आइसकेका छन्। त्यस्तै, बाढीका कारण बन्द रहेको १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्रसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ। म्याग्दी, बागलुङ, तनहुँको झापुटार र रुकुम पूर्वमा बाढीपहिरोका कारण प्रभावित विद्युत् सेवा पुनः सञ्चालन भइसकेको छ भने मुस्ताङ, प्युठान, रोल्पा र मनाङमा सेवा सुचारु गर्न प्राविधिक टोली परिचालन गरिएको छ।

यसअघि गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट माथिल्लो त्रिशूली–३बीको २२० केभी हबमा पुगेको क्षति तथा विभिन्न जलविद्युत् आयोजनामा भएको क्षतिका कारण करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिर रहेको छ। उक्त क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण र प्राधिकरणका सहायक कम्पनीतर्फ प्रारम्भिक रूपमा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

आगामी सुख्खायाममा विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न प्राधिकरणले आन्तरिक उत्पादनसँगै भारतबाट विद्युत् आयात गर्ने योजना बनाएको छ। सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ। माग व्यवस्थापनका लागि ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसी माध्यमबाट १५० मेगावाट गरी कुल करिब १ हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना छ। यसअनुसार सुख्खायाममा कुल विद्युत् उपलब्धता करिब २ हजार ३७२ मेगावाट पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्षको सुख्खायाममा राष्ट्रिय विद्युत् मागको उच्चतम स्तर २ हजार २९२ मेगावाट रहेको थियो।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स