आज असोज ७ गते बुधबार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्नो रिभर्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले भोलि अर्थात् असोज ८ गते बुक क्लोज गर्दैछन्। यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
सांग्रिला डेभलपमेन्ट बैंकले असोज २२ गते बिहीबार एलिस रिसेप्सन, गैरीधारा, काठमाडौंमा २२औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र बोनस सेयरको कर प्रयोजनार्थसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। संस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन तथा लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव पनि सभामा पेस हुनेछन्।
यस्तै, स्नो रिभर्सले असोज २१ गते बुधबार लिसरा रिसेप्सन्स प्रा.लि., भगवती बहाल, नक्साल, काठमाडौंमा पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान साढे ८ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, लोन अगेन्स्ट आईपीओ स्वीकार गर्ने सम्बन्धी निर्णय अनुमोदन गर्ने तथा विभिन्न जलविद्युत आयोजना र कम्पनीमा सेयर लगानी गर्ने निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछन्। सर्वसाधारण सेयरधनीका तर्फबाट १ जना सञ्चालकको निर्वाचन, लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावसमेत सभामा रहेका छन्।

प्रतिकृया