मन्त्रिपरिषद् बैठकमा डीडीसीको उत्पादन

मन्त्रिपरिषद् बैठकमा डीडीसीको उत्पादन

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा नीतिगत निर्णयसँगै स्वदेशी उत्पादन प्रवर्द्धनको सन्देश पनि दिइएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीलाई दुग्ध विकास संस्थान (डीडीसी) का विभिन्न दुग्धजन्य उत्पादनको प्याकेट वितरण गरेकी हुन्।

मन्त्रीहरूलाई वितरण गरिएको प्याकेटमा डीडीसीद्वारा उत्पादित दूध, केशर दूध, बटर, चिज, दही र पेँडा समावेश थिए। स्वदेशी वस्तुको उपभोग बढाउने, सरकारी स्वामित्वको संस्थानको बजार विस्तार गर्ने तथा नेपाली किसानको उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले बैठककै क्रममा यी सामग्री वितरण गरिएको बताइएको छ।

बैठकमा डीडीसीको देशव्यापी प्रवर्द्धन, बजार विस्तार तथा संस्थानको व्यावसायिक सुदृढीकरणका विषयमा समेत छलफल भएको थियो। मन्त्री चौधरीले नेपाली किसानबाट संकलित दूधको उचित व्यवस्थापन र बजार सुनिश्चित गर्न सरकारी तहबाट सक्रिय पहल आवश्यक रहेको धारणा राखिन्।

उनले डीडीसीलाई थप प्रतिस्पर्धी र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न विभिन्न सरकारी निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै स्वदेशी दुग्ध उत्पादनको संरक्षण र किसानको हितका लागि सरकार आफैंले उपभोग र प्रवर्द्धनमा उदाहरण प्रस्तुत गर्नुपर्ने बताइन्।

प्रधानमन्त्री बालेन्द्र शाहले पनि डीडीसीका उत्पादनको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको सन्देश दिएका छन्। यसअघि पनि उनले डीडीसीका उत्पादनको प्रचार गर्दै स्वदेशी वस्तुको प्रयोग बढाउन नागरिकलाई आग्रह गरेका थिए।

लामो समयदेखि नेपाली उपभोक्तालाई दूध, घिउ, दही, पनिर र चिजलगायत गुणस्तरीय दुग्धजन्य उत्पादन उपलब्ध गराउँदै आएको डीडीसीलाई मन्त्रिपरिषद्को साथ प्राप्त भएपछि यसको प्रवर्द्धन अभियानले थप गति लिने अपेक्षा गरिएको छ। सरकारले स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा स्थापित गर्ने रणनीतिअन्तर्गत यस्तो कदम अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स