बीआईएस नवीकरणमा ढिलाइले सिमेन्टको निर्यात २७ प्रतिशतले घट्यो
नेपाली सिमेन्ट निर्यातमा ठूलो धक्का लागेको छ। व्यापार घाटा कम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको सिमेन्ट निर्यात भारतको ‘ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड’ (बीआईएस) प्रमाणपत्र नवीकरणमा ढिलाइका कारण प्रभावित भएको छ।
भन्सार विभागका तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा (साउनदेखि फागुनसम्म) सिमेन्ट निर्यात २६.७२ प्रतिशतले घटेको छ। फागुन मसान्तसम्म नेपालले १ अर्ब ९४ करोड ९६ लाख रुपैयाँ बराबरको १२ लाख ९८२ टन सिमेन्ट तथा क्लिंकर भारत पठाएको छ। यो अघिल्लो वर्षको तुलनामा ५२ करोड १० लाख रुपैयाँले कम हो। गत वर्ष सोही अवधिमा नेपालले २ अर्ब ४७ करोड रुपैयाँ बराबरको २२ लाख ९६ हजार टन सिमेन्ट तथा क्लिंकर निर्यात गरेको थियो।
यस वर्ष साउनदेखि फागुनसम्म नेपालले ६१ करोड ६३ लाख रुपैयाँ बराबरको चार लाख ७६ हजार ४५२ टन क्लिंकर निर्यात गरेको छ भने एक अर्ब ३३ करोड ३२ लाख रुपैयाँ बराबरको सात लाख २४ हजार ५३० टन तयार सिमेन्ट भारत पठाइएको छ। गत आर्थिक वर्षमा नेपालले १ अर्ब १८ करोड रुपैयाँको क्लिंकर र १ अर्ब २८ करोड रुपैयाँको सिमेन्ट निर्यात गरेको थियो।
नेपाली सिमेन्ट उद्योगहरूले आफ्नो उत्पादन भारतमा निर्यात गर्न बीआईएस प्रमाणपत्र लिनुपर्ने हुन्छ। यसको अवधि एकदेखि दुई वर्षसम्मको हुने गर्छ, जसपछि पुनः नवीकरण आवश्यक हुन्छ। तर हाल बीआईएस प्रमाणपत्र नवीकरणमा ढिलाइ हुँदा निर्यातमा ठूलो असर परेको उद्योगीहरू बताउँछन्। उद्योगीहरूका अनुसार आवश्यक सबै शुल्क तथा कागजात बुझाइसकिएको भए पनि भारतले प्रक्रिया अघि बढाएको छैन। यसको कारणबारे भारत सरकारले कुनै स्पष्ट जानकारी नदिएको व्यवसायीहरूको गुनासो छ। सरकारले यस विषयमा कूटनीतिक पहल गर्नुपर्ने माग उद्योगीहरूले गरिरहेका छन्।