गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्दै आएका सरकारी गाडीबाट कालो सिसा हटाइएको छ। सुरक्षाको कारण देखाउँदै ती गाडीमा यसअघि कालो सिसा जडान गरिएको थियो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सार्वजनिक तथा निजी सवारी साधनमा प्रयोग भएका कालो सिसा हटाउने अभियानअन्तर्गत सोमबार गृहमन्त्री र गृहसचिवको गाडीबाट पनि कालो सिसा हटाइएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि कालो सिसा प्रयोग गर्ने सवारी साधनविरुद्ध विशेष अभियान सञ्चालन गरिरहेको छ। कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार हालसम्म २०० भन्दा बढी सवारी साधनमाथि कारबाही गरिएको छ।
एसपी सुवेदीले कालो सिसाको दुरुपयोग गरी विभिन्न अपराध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै यस्तो अभियान सञ्चालन गरिएको र नियमविपरीत कालो सिसा प्रयोग गर्ने सवारी साधनमाथि कारबाहीलाई निरन्तरता दिइने बताए।

प्रतिकृया