नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादीले जनताका मुद्दा बोकेर अघि बढे आगामी चुनावमा पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
माओवादी केन्द्र स्वर्गद्वारी नगरपालिकाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले माओवादीले विगतमा गल्ती गरेको स्वीकार गरे। उनले माओवादी पार्टी टुटफुट र विभाजनको सिकार भएको र सत्तामा पुगेपछि कतिपय जनताको एजेन्डा छुट्न पुगेकाले विगतका गल्तीबाट पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
पुनले आगामी २०८४ को चुनावमा माओवादी केन्द्र पहिलो दल बन्न सक्ने विश्वास व्यक्त गर्दै उपनिर्वाचनमा जनमतका हिसाबले माओवादी दोस्रो र प्रमुख-उपप्रमुख विजयी संख्याका आधारमा पहिलो दल बनेको दाबी गरे। साथै, उनले माओवादी अब आगामी चुनाव एक्लै लड्ने घोषणा गर्दै जनताले माओवादीलाई आफ्नै एजेन्डामा उभिन चाहेको बताए।
लोकतन्त्रको विकल्प अझ परिस्कृत लोकतन्त्र रहेको उल्लेख गर्दै पुनले माओवादीले जनताले उठाएका प्रश्नको जवाफ दिने, कमजोरी सच्याउने र आफूलाई परिमार्जन गर्दै प्रमाणित गर्नुपर्ने बताए। उनले नयाँ भनिएका दलहरू सिद्धान्त, विचार, संस्कृति, र इतिहासविहीन रहेकाले वैकल्पिक शक्ति बन्न नसक्ने टिप्पणी गरे।
‘हामीले विगतका गल्तीबाट पाठ सिक्नुपर्छ,’ पुनले भने, ‘संविधान र शान्ति प्रक्रियाका लागि कांग्रेस–एमालेसँग मिल्नुपर्ने बाध्यता थियो। तर, अहिले कांग्रेस–एमाले परिवर्तनविरोधी बनेका छन्। अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालिएको मुख्य कारण पनि यही हो।’
उनले माओवादीले विचौलियाको काम छोडेर जनताको काम गर्नुपर्ने र समाजवादी गणतन्त्रको विकल्पसहित लोकतन्त्रलाई सुधार गरेर जनताको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। कांग्रेस र एमालेप्रति जनताको विश्वास घटेको र नयाँ दलहरू पनि विकल्प बन्न नसकेको उनको निष्कर्ष थियो।
















प्रतिकृया