आरजु देउवाले भनिन्, “मेरो घरमा नोट जलेको होइन”
पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा भएको आगजनी घटनासम्बन्धी समाचार र सामाजिक सञ्चालमा फैलिएका दाबीहरू तथ्यहीन भएको स्पष्ट गरेकी छन्। आफूविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउँदै उनले घरमा नगद जलेको भनेर प्रचार गरिएको कुरा पूर्णतः गलत रहेको उल्लेख गरेकी छन्।
उनले जवाफमा लिखेकी छन्, “म र नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्रीको निवासमा रकम जलेको दाबी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको छ, तर यो आरोप निराधार छ।”
सुरक्षा परिषद्को सदस्यसमेत रहेकी राणासहितका अधिकारीहरूले समयमै परिषद्को बैठक नडाकी सेना परिचालन नगरेका कारण जनधनको क्षति भएको आरोप लगाउँदै सर्वोच्चमा रिट परेको थियो। सोही रिटको प्रतिवाद गर्दै उनले लेखेकी छन्, “आन्दोलनका दौरान उच्छृङ्खल व्यक्तिहरू निवासभित्र प्रवेश गरी आक्रमण गर्दा आफूहरू घाइते भएका र घरमा क्षति पुगेका कारण तत्काल बैठक बस्न सकिएको थिएन।”
उनका अनुसार, घरबाट रकम जलेको भनी फैलिएको हल्लाबारे सरकार र सम्बन्धित निकायले छानबिन गरिसकेका छन् र क्षतिबारे मुचुल्कासमेत तयार भइसकेको छ। त्यसैले आशंकामा आधारित पूर्वाग्रही रिट खारेज गर्न अनुरोध गरिएको उनको निवेदनमा उल्लेख छ।





