ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले हाल सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङको चर्चा निराधार रहेको स्पष्ट पारेका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले लोडसेडिङबारे फैलिएका हल्लालाई सस्तो लोकप्रियताको प्रयास मात्रै भएको टिप्पणी गरे।
उनका अनुसार नियमित मर्मतसम्भारबाहेक अन्य कुनै कारणले लोडसेडिङ हुने अवस्था छैन। “बिजुली बेलाबेला जाने समस्या नयाँ होइन। गत वर्ष पनि वर्षभरिको अवधिमा लगभग ७०० घण्टा विद्युत् आपूर्ति अवरुद्ध भएको पाइन्छ,” उनले भने। हावाहुरी, असिना, पोल ढल्ने, मानवीय त्रुटि, र प्राकृतिक प्रकोपका कारण विद्युत् आपूर्ति रोकिने गरेका उदाहरण उनले प्रस्तुत गरे।
मन्त्री खड्काले थपे, “हामीले यो हिउँदमा अधिकतम १,००५ मेगावाट विद्युत् भारतबाट आयात गर्यौँ। समयअनुसार यो आयात क्रमशः घट्दै गयो र आन्तरिक उत्पादन बढ्दै गइरहेको छ। केही दिनअघि पनि हामीले ३५० मेगावाटजति आयात गरिरहेका थियौँ। तर, आजको तथ्याङ्कअनुसार १५० मेगावाट विद्युत् निर्यात गरेका छौँ, अर्थात् हामीसँग उत्पादन बढी भएर निर्यात गर्ने अवस्था आएको छ।”
उनले स्पष्ट पारे कि लोडसेडिङको अवस्था अहिले छैन र आगामी दिनमा झनै त्यसको सम्भावना देखिँदैन, किनभने देशभित्रै विद्युत् उत्पादनमा उल्लेख्य प्रगति भइरहेको छ।
















प्रतिकृया