समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भएपछि शुक्रबारदेखि ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार औपचारिक रूपमा सुरु भएको छ।
एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक विश्रुत थापाले संयुक्त रूपमा गरेका छन्।
कार्यक्रममा पोखरा फाइनान्स लिमिटेडका निर्वतमान अध्यक्ष राज कुमार गुरुङले स्वागत मन्तव्य राख्दै मर्जरको आवश्यकता र औचित्यमाथि प्रकाश पारे।
यस अवसरमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादव, नेपाल वित्तीय संस्था संघका उपाध्यक्ष रजोज मान श्रेष्ठ, डेभलपमेण्ट बैंकर एशोसियसनका अध्यक्ष सुयोग श्रेष्ठ, नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला तथा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले मर्जर सफलतापूर्वक सम्पन्न भएकोमा दुवै संस्थालाई शुभकामना व्यक्त गरे।
प्रमुख अतिथिद्वय रामु पौडेल र विश्रुत थापाले वित्तीय संस्थाहरूको मर्जरजस्ता पहलमा नियामक निकायको सहयोग निरन्तर रहने र आगामी दिनमा पनि आवश्यक मार्गनिर्देशन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा संस्थाका अध्यक्ष अजय कुमार मिश्रले मर्जरपछि संस्था थप सुदृढ र ठूलो बनेको उल्लेख गर्दै संस्थागत सुशासनलाई अझ मजबुत बनाउँदै बलियो वित्तीय संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, मर्जर प्रक्रियामा सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गरे।


प्रतिकृया