नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लगाइएको शीघ्र सुधारात्मक कारवाही (प्रम्प्ट करेक्टिभ एक्सन) फुकुवा गरेको छ।
राष्ट्र बैंकले सूचना जारी गर्दै समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग गाभिने प्रक्रिया पूरा भएपछि पोखरा फाइनान्सको वित्तीय अवस्था सुधारिएको देखिएकाले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिम लगाइएको कारवाही हटाइएको जनाएको हो।
पोखरा फाइनान्सको २०८० पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण तथा आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको गैरस्थलगत विवरणमा सुपरिवेक्षकीय समायोजनपछि संस्थाको पुँजीकोष अनुपात नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा निकै कम देखिएको थियो। त्यसपछि राष्ट्र बैंकले २०८१ माघ २३ गतेदेखि उक्त संस्थामाथि शीघ्र सुधारात्मक कारवाही लागू गरेको थियो।
पछि समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग गाभ्ने तथा गाभिने प्रस्तावलाई समितिले २०८३ वैशाख १७ गते अन्तिम स्वीकृति दिएको थियो। त्यसअनुसार २०८३ वैशाख मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका आधारमा संयुक्त संस्थाको प्राथमिक पुँजी ६.०६ प्रतिशत र कुल पुँजीकोष अनुपात १०.८० प्रतिशत कायम हुने देखिएको राष्ट्र बैंकले जनाएको छ।
सोही आधारमा समितिको २०८३ असार १० गतेको निर्णयअनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग एकीकृत कारोबार सुरु हुने मितिदेखि लागू हुने गरी पोखरा फाइनान्स लिमिटेडमाथि लगाइएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरिएको राष्ट्र बैंकले जनाएको छ।


प्रतिकृया