एमाले बहुमतको सरकार नबनी देश बन्दैन्ः महासचिव पाेखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको सिङ्गो ध्यान आगामी २०८४ को निर्वाचनमा केन्द्रित रहेको बताएका छन्। नेपालगञ्ज उपमहानगरपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा पोखरेलले भने, “हाम्रो अबको मिसन नेकपा एमालेको एकल बहुमतको सरकार बनाउनु हो। एउटा पार्टीको बहुमतको सरकार नबनी देशको विकास गति लिन सक्दैन।”
पोखरेलका अनुसार, आगामी निर्वाचनलाई एमालेका लागि अवसरको रूपमा हेर्ने कुरा स्पष्ट छ। यद्यपि, यस उद्देश्यलाई पूरा गर्न सजिलो नहुन सक्छ, तर पार्टीले निर्णयात्मक शक्ति बनाउने संकल्प गरेको उनले जनाए।
उनले भने, “समाजवादको बाटोमा अघि बढ्न चाहने हो भने बलिया राजनीतिक दलहरूको आवश्यकता छ, धेरै पार्टीहरू होइन। हाम्रो जनमत विभाजित नगरी बलियो राजनीतिक शक्ति निर्माणमा केन्द्रित हुनु पर्छ।”
पोखरेलले देशलाई बलियो बनाउने क्रममा क्षेत्रीय पार्टीहरूमा मतविभाजन हुनु नहुने कुरा पनि उल्लेख गरे। “हाम्रो जनमत अब विभाजित गर्नु होइन, बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने कुरामा केन्द्रित हुनु पर्छ,” उनले थपे।
नेकपा एमालेलाई कमजोर बनाउन विभिन्न षडयन्त्र भइरहेको भन्दै पोखरेलले साइबर आक्रमणको माध्यमबाट पार्टीलाई कमजोर बनाउने प्रयास भएको बताए। यसलाई चिरेर अघि बढ्न सके भने अब कुनै पनि शक्तिले एमालेलाई कमजोर बनाउन नसक्ने उनको विश्वास छ।
पोखरेलले नेपालमा बलिया पार्टीहरू माथि कमजोर पार्टीले शासन गर्ने परम्परा छैन भनेर भने, “नेपालमा ३२ सिट भएको पार्टी २ सय ७५ सिटको पार्टीसँग मिलेर शासन गर्छ, यो भद्दा मजाक हो, र यसका प्रमुख जिम्मेवार नेता प्रचण्ड नै हुन्।”
प्रधानमन्त्री प्रचण्डको बारेमा पोखरेलले भनें, “प्रचण्डलाई जब हटाउनु पर्दा पीडा र छटपटी हुनेछन्, र अझै ‘म नै प्रधानमन्त्री बन्छु’ भन्ने मजाक गर्दै हिँड्नु भएको छ।”
पोखरेलले माओवादीका नेताहरूको भ्रष्टाचार र तस्करीको आरोप पनि लगाए, जसका अनुसार माओवादी कार्यकर्ताहरूले सबैभन्दा ठूला तस्करसँग विवाह गरेका थिए। उनले भने, “माओवादीले नेपालको राजनीतिलाई विकृत बनायो।”
अन्त्यमा, पोखरेलले नयाँ पुस्तालाई राजनीतिमा सक्रिय हुन प्रोत्साहित गर्दै भने, “पुराना पुस्ताका अनुभवबाट नयाँ पुस्ताले सिक्नुपर्छ। केही नजानेकालाई सत्ता दिने कामले देशलाई अझ बरबादी तर्फ लैजानेछ।”
पोखरेलका अनुसार, नेकपा एमाले नेतृत्वको सरकार बनेपछि देशमा आर्थिक वृद्धि, विकास, र लगानीको वातावरण सिर्जना भएको छ। कानूनी सुधार क्षेत्रमा पनि नयाँ ढङ्गले काम गर्न शुरु गरिएको जानकारी उनले दिएका छन्।