संविधान संशोधनका लागि सबै दललाई सहमतिमा ल्याउनुपर्छ – महामन्त्री शर्मा

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन २ गते
संविधान संशोधनका लागि सबै दललाई सहमतिमा ल्याउनुपर्छ – महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधनको आवश्यकता औंल्याउँदै स्थिर सरकारको परिकल्पना गरेका छन्। उनले संविधानको सही संरचना भए पनि कार्यान्वयनमा असन्तुष्टि रहेको र यसलाई सुधार गर्नुपर्ने बताएका छन्। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री शर्माले प्रतिनिधि सभामा सर्वाधिक मत ल्याउने दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री भएर सरकार चलाउन दिनुपर्ने र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्ने सुझाव राखे।

उनले भने, “समस्या संविधानको संरचनामा छैन, तर संसदमा बहुमत जुटाउने पद्धतिमा छ। संसदीय दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने व्यवस्था हुनुपर्छ। यसका लागि संविधान संशोधन आवश्यक छ।”

महामन्त्री शर्माले संविधान संशोधनका लागि माओवादी, रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, र मधेश केन्द्रित अन्य दलहरूसँग सहमति आवश्यक रहेको उल्लेख गरे। उनले संविधानमा संशोधन गर्दा स्थिर सरकारको लागि संरचनागत परिवर्तन आवश्यक रहेकोमा जोड दिए।

संविधान संशोधनको प्रस्तावमा प्रतिनिधि सभा, मन्त्रिपरिषद, र प्रदेश सरकारको आकार घटाउनु पर्ने कुरा राख्दै उनले समानुपातिक प्रतिनिधित्वको बारेमा कांग्रेस–एमालेबीच कुनै समझदारी नभएको स्पष्ट पारे।

उनले भने, “संविधानलाई जति परिमार्जन गरे पनि यदि सञ्चालन गर्ने ढंगमा सुधार भएन भने त्यसले मात्र परिवर्तन ल्याउन सक्दैन।”

महामन्त्री शर्माले प्रधानमन्त्रीलाई पाँच वर्ष टिकाउने विधिको खोजीमा रहेको र संविधान संशोधनले स्थिर सरकारको मार्ग प्रशस्त गर्नुपर्ने धारणा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स