संविधान दिवसको अवसरमा यस पटक कैदीहरू रिहा नहुने भएका छन्। कारागार व्यवस्थापन विभागले कैदी छुटाउने विवरण गृह मन्त्रालयमा पठाए पनि, निर्णय नभएकोले बिहीबार संविधान दिवसको अवसरमा कैदी रिहा नहुने भएको हो।
गृह मन्त्रालयले गृहकार्य अधुरो भएको भन्दै निर्णय नगरेकाले भोलि कैदी छुट्ने अवस्था नरहेको जानकारी विभागका एक अधिकारीले दिएका छन्। ‘कैदी बन्दीको विवरण हामीले दुई पटक पठाइसकेका छौं, तर गृहबाट निर्णय आउन बाँकी छ,’ उनले भने।
यसअघि ९ असारमा ६२० जना र १७ भदौमा ४२० जनाको कैद कटौती हुने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो। दुबै टोलीका कैदीहरू ३ असोजमा संविधान दिवसको अवसरमा छुट्ने भनिए पनि हाल केही गृहकार्य आवश्यक परेकोले प्रक्रिया रोकिएको छ।
यसअघि गणतन्त्र दिवसको अवसरमा कैदीहरू रिहा हुँदै आए पनि यस पटक गणतन्त्र दिवसमा पनि रिहा भएका थिएनन्। कैदी रिहा गर्दा पीडितको सहमति लिने प्रचलन नभएको अवस्थामा, एक विशेष मुद्दामा सर्वोच्च अदालतले पीडितको सहमति र क्षतिपूर्तिको व्यवस्था सुनिश्चित गरेर मात्र कैदी रिहा गर्नुपर्ने फैसला गरेको थियो।
















प्रतिकृया