फिल्म ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको दशौं दिनसम्म घरेलु बक्सअफिसमा १७ करोड ९८ लाख रुपैयाँ ग्रस आम्दानी गरेको छ। वितरण कम्पनी बैंकटेस इन्टरटेनमेन्टले शनिबारसम्मको कलेक्सन सार्वजनिक गरेको हो।
यो कमाइमा काठमाडौं उपत्यकाको हिस्सा ५२ प्रतिशत र मोफसलको ४८ प्रतिशत रहेको छ। देशभरका ४८० शोबाट विजय बराल अभिनीत यो फिल्मले यस्तो आम्दानी गरेको जनाइएको छ।
आठ दिनसम्म ११ करोड १० लाख ग्रस कमाएको फिल्मले शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाख ग्रस कमाइ गरेको हो, जुन नेपाली फिल्म इतिहासमा शनिबारकै सबैभन्दा बढी आम्दानी हो।
“यो अभूतपूर्व र तीव्र गतिको कमाइ हो,” बैंकटेस इन्टरटेनमेन्टका मनोज राठीले भने। “यही गति कायम रहेमा फिल्मले चाँडै २० करोडको आँकडा पार गर्ने हाम्रो अनुमान छ।”
नेपाली फिल्मको सबैभन्दा धेरै कमाइको रेकर्ड ‘कबड्डी ४’सँग छ, जसले निर्माताका अनुसार २३ करोड ५० लाख र चलचित्र विकास बोर्डका अनुसार २१ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको थियो।


















प्रतिकृया