अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणका नाममा सार्वजनिक बजेट दुरुपयोग भएको भन्दै गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार गाउँपालिकाले राजेश हमालको निर्देशनमा ‘अन्धपथ’ नामक चलचित्र बनाउने भनी नियमविपरीत १५ लाख रुपैयाँको सम्झौता गरेको थियो र पछि पौने १३ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।
आयोगले पालिका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह, लेखापाल विमल साउद र चलचित्र निर्माण जिम्मेवार आरजे ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउण्डेशन, काठमाडौंका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) विरुद्ध मुद्दा दायर गरेको छ। चारैजनाबाट कुल १२ लाख ७७ हजार २५० रुपैयाँ बिगो माग गरिएको छ।
कानुनले तोकेको भन्दा बढी पेस्की दिन मिल्ने व्यवस्था हुँदाहुँदै गाउँपालिकाले ५८ प्रतिशतसम्म पेस्की दिएको, घर भाडा र अन्य खर्चको नाममा नक्कली बिल पेश गरी रकम भुक्तानी गरिएको, हिउँदे अधिवेशनबाट कार्यक्रम संशोधन र रकमान्तर गरी सेटिङमा हिनामिना गरिएको, बजेट विनियोजन नगरी २०८१ भदौ १८ मा प्रतिस्पर्धा बिना सोझै खरिद गरिएको, बैंक जमानत नलिई रकम दिइएको र नक्कली बिलका आधारमा थप खर्च देखाइएको उल्लेख गरिएको अभियोग पत्रमा उल्लेख छ।
आयोगले कुल १२ लाख ७७ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानि भएको पुष्टि गरेको छ। सोही आधारमा दोषीहरूलाई कैद, जरिवाना र बिगो असुल गर्नुपर्ने मागसहित भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत विशेष अदालतमा मुद्दा दायर गरिएको छ भने सार्वजनिक पदको दुरुपयोग भएको ठहर गर्दै थप सजायको मागसमेत गरिएको छ।




















प्रतिकृया