तिहारको अवसरमा लक्ष्मीपूजाको दिन (१५ गते) रिलिज भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ घरेलु बक्स अफिसमा आक्रामक व्यवसाय गर्दैछ। फिल्मले रिलिजको ६ दिनमा ७ करोडभन्दा बढी कमाई गरेर अघिल्लो रेकर्ड तोड्ने सम्भावना देखाएको छ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार, फिल्मले सोमबारसम्म ४ करोड ८७ लाख ग्रस कमाइ गरेको थियो। मङ्गलवारमा फिल्मले मात्र २ करोडको व्यापार गरेको र अहिलेसम्म ७ करोडभन्दा बढी कमाइ गरेको बताइएको छ। फिल्मको व्यवसाय दिन प्रतिदिन बढ्दै गएको र रेकर्ड तोड्ने अपेक्षासमेत गरिएको छ।
काठमाडौँ क्षेत्रबाट ५२ प्रतिशत र मोफसल क्षेत्रबाट ४८ प्रतिशत व्यवसाय रहेको छ। पहिलो दिन कमजोर व्यापार गरेका फिल्मको ‘वर्ड अफ माउथ’ को कारण व्यवसायमा सुधार आएको हो। फिल्म अहिले २०० भन्दा बढी शोमा प्रदर्शन भइरहेको छ, जुन एक उच्च संख्या मानिन्छ। क्यूएफएक्स मल्टिप्लेक्सले फिल्मलाई सुपरहिटको मान्यता दिइसकेको छ। मङ्गलवारदेखि फिल्म जापानमा पनि रिलिज भएको छ र त्यहाँ पनि राम्रो व्यवसाय गर्दैछ।
फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, जबकि निर्देशक सरोज पौडेल रहेका छन्। फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ लगायतका कलाकारहरूको अभिनय छ।


















प्रतिकृया