नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने ठोकुवा गरेका छन्। शनिबार काभ्रे–काठमाडौं सम्पर्क समितिको भेलामा बोल्दै उनले अहिले माओवादी प्रमुख विपक्षी दलको भूमिकामा रहेको र यो सरकार कुनै पनि कारणले अस्थिर भएमा अर्को सरकार माओवादीकै नेतृत्वमा बन्ने दाबी गरे। उनले आफ्नो पार्टीको ३२ सिटलाई “म्याजिक नम्बर” को संज्ञा दिँदै, यसले माओवादीलाई प्रमुख विपक्षी दलको भूमिकामा उभ्याएको र सरकारको स्थायित्वमा ठूलो प्रभाव पार्ने तर्क गरे। “यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो,” उनले भने, “त्यसैले हामी चिन्तित छैनौं। सरकार फेरिए पनि नेतृत्व माओवादीकै हुनेछ।”
त्यसैगरी, प्रचण्डले विगतमा माओवादी पार्टीभित्र भएको विभाजनको चर्चा गर्दै अहिले ती सबै धाराहरू फेरि एकतावद्ध हुने प्रक्रियामा रहेको जानकारी दिए। उनले कतिपय नेताहरू र समूहहरूसँग एकताको प्रयास तीव्र रूपमा भइरहेको र केहीसँग वार्ता भइरहेको बताए। विगततर्फ फर्किंदै उनले ०६४ सालको निर्वाचनपछि धेरै नेताहरूले माओवादीभित्रैबाट आफूलाई ठूलो नेता बनाउन प्रयास गरे पनि त्यसले कुनै दीर्घकालीन प्रभाव नपारेर अब उनीहरू सबै प्रचण्डकै नेतृत्वलाई स्वीकार गर्न थालेको दाबी गरे। “अहिले सबै माओवादी धाराहरू एउटै ठाउँमा आउँदैछन्, र प्रचण्डको नेतृत्वमै एकता सम्भव भएको महसुस गरेका छन्,” उनले भने।
प्रचण्डले माओवादीको आन्दोलनात्मक भूमिकालाई फेरि सशक्त रूपमा पुनर्स्थापित गर्ने संकेत पनि दिए। उनले नागरिक समाजका व्यक्तित्वहरू, कांग्रेस र एमालेमा आस्था राख्ने बुद्धिजीवीहरूबाट आन्दोलनको नेतृत्व गर्न आग्रह आएको दाबी गरे। “अब हाम्रो विकल्प आन्दोलन नै हो,” उनले स्पष्ट पारे। प्रचण्डले हालको राजनीतिक अवस्था र सम्भावित विकल्पहरूबारे प्रस्ट पार्दै माओवादी आन्दोलनको अगुवाइ गर्दै देशमा नयाँ राजनीतिक अध्याय सुरु गर्ने अठोट व्यक्त गरे। उनका यी भनाइहरूले माओवादीको रणनीतिक सोच र सरकारप्रतिको दृष्टिकोणलाई झल्काएको छ।
















प्रतिकृया