नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका गतिविधिविरुद्ध फेरि संघर्ष आवश्यक भएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिद सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औं स्मृति दिवसमा बोल्दै प्रचण्डले जनताको बलिदान र अधिकारमाथि भइरहेका प्रतिक्रान्तिका प्रयासहरूसँग जुध्नुपर्ने परिस्थिति आएको बताएका हुन्।
प्रचण्डले क्रान्तिका उपलब्धिहरू उल्ट्याउने प्रयास भइरहेको उल्लेख गर्दै, अहिले क्रान्तिकै उपलव्धिको उपभोग गर्नेहरू नै क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गरिरहेको बताए। उनले संविधानमा जनताको सशस्त्र संघर्ष र माओवादी जनयुद्धलाई स्पष्ट रूपमा उल्लेख गरिए पनि केहीले त्यसको अपमान गरिरहेकोप्रति चिन्ता व्यक्त गरे।
प्रचण्डले भने, “हामीले परिवर्तनकारी जनयुद्ध गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौं, तर आज त्यही व्यवस्थामा बसेर जनयुद्धलाई अपमान गर्ने काम भइरहेको छ। यो अवस्थाविरुद्ध संघर्ष गर्नु नै सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।”
शान्ति प्रक्रियामा सहभागी हुनु अघि नै क्रान्ति फरक रूपले जारी रहने बताएका दाहालले, रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा प्रेरित गरेको र त्यसपछि भएका सबै सहादतले क्रान्तिकारीहरूलाई अघि बढ्न सहयोग पुर्याएको बताए।




















प्रतिकृया