पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान दिवसको अवसरमा भ्रष्टाचारमुक्त अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्। शुभकामना सन्देशमा उनले जनताले संविधानमार्फत प्राप्त गरेका अधिकारको उच्चतम प्रयोग गर्दै अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न आग्रह गरेका छन्।
प्रचण्डले संविधानले प्रदान गरेका अधिकारको रक्षा, प्रयोग र सुधार गर्दै बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था सुधार्न दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले आफू यस अभियानका लागि तयार रहेको पनि उल्लेख गरेका छन्।
उनका अनुसार अबको बाटो सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवाद निर्माणको लक्ष्यतर्फ अघि बढ्नु हो। साथै, संविधान कार्यान्वयनका बाँकी रहेका कामहरूलाई अझ द्रुत र दृढताका साथ सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
प्रचण्डले संविधान दिवसको महत्त्वलाई स्पष्ट गर्दै यसले अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध नेपाली जनतालाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। यद्यपि, यो चुनौतीपूर्ण कार्य भएको उनको भनाइ छ।
संविधानले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, र समुदायलाई अधिकार सम्पन्न बनाएको र राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता गरेको उल्लेख गर्दै, उनले यसलाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता पनि औँल्याए।




















प्रतिकृया