हाल सम्म चार हाइड्रोपावर कम्पनीरुले २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। चार हाइड्रोपावर कम्पनीहरु: भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर, सुपर माई हाइड्रोपावर, र अपि पावर कम्पनीले वार्षिक मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेका हुन ।
यी चार कम्पनीमध्ये सबैभन्दा बढी लाभांश भगवती हाइड्रोपावरले घोषणा गरेको छ। कम्पनीले ४ प्रतिशत बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरि कुल १४.७३६८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आगामी असोज १६ गते साधारण सभा बोलाएको छ । लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार भदौ ३१ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन र लाभांश पाउन योग्य हुनेछन् ।
त्यस्तै , माण्डु हाइड्रोपावर कम्पनीले पनि गत आवको मुनाफाबाट सेयरधनीहरुलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार भदौ ३० गते सम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभाशं पाउन योग्य हुनेछन् ।
त्यस्तै, सुपर माई हाइड्रोपावरले पहिलो पटक लाभांश घोषणा गरेको छ। कम्पनीले ७ प्रतिशत बोनस शेयर र ५.६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, अपि पावर कम्पनीले पनि गत आवको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०. ४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हालसम्ममा अपि पावर र सुपर माई हाइड्रोपावर कम्पनीले साधारण सभाको मिति भने तय गरेका छैनन् ।

















प्रतिकृया