एमालेका पोखरेल भन्छन्, “प्रचण्ड प्रधानमन्त्री हुँदा संकटमा परेको अर्थतन्त्र सुधार्न खोज्दा ओलीमाथि प्रहार भयो”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ११ गते
एमालेका पोखरेल भन्छन्, “प्रचण्ड प्रधानमन्त्री हुँदा संकटमा परेको अर्थतन्त्र सुधार्न खोज्दा ओलीमाथि प्रहार भयो”

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई आर्थिक र राजनीतिक संकटबाट मुक्त गर्न एमाले र कांग्रेसको सहकार्य आवश्यक रहेको बताएका छन्।

नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले संकट समाधानका प्रयासमाथि गरिएका प्रहारलाई दुर्भाग्यपूर्ण भने।

उनले केपी ओलीमाथि भइरहेको आलोचनालाई उल्लेख गर्दै संकट समाधानका लागि प्रयास गर्ने नेतालाई निशाना बनाउनु गलत प्रवृत्ति भएको बताए। सर्वोच्च अदालतको निर्णयपछि कमजोर नेतृत्वले शासन गर्न थालेको र त्यसले देशलाई थप समस्यामा पारेको पोखरेलको भनाइ छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका बेला देश गम्भीर आर्थिक संकटमा परेको उनले दाबी गरे। पोखरेलले अघिल्लो सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीले निर्माण व्यवसायीको भुक्तानी समाधान गर्न नसकेको भन्दै आलोचना गरे। उनले देश बनाउने जिम्मा नेताहरूसँगै जनताको पनि रहेको र केवल नेताहरूमाथि गाली गरेर मात्र देश बन्न नसक्ने बताए।

राजनीतिक अस्थिरताका कारण मुलुक समस्यामा परेकाले निर्वाचन प्रणाली सुधार गर्न आवश्यक रहेको र नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन नयाँ सोच र योजनासहित अघि बढ्नुपर्ने उनले धारणा राखे। महासचिव पोखरेलले एमाले र कांग्रेसको सहकार्यलाई संकट समाधानको आधारका रूपमा चित्रित गर्दै सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स