सिटी होटल लिमिटेडले ‘लक-इन’ अवधिमा संस्थापक समूहको सेयर अवैध रूपमा बिक्री गरिएको भन्ने समाचारहरूलाई खण्डन गरेको छ। कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै यस्ता दाबीहरू पूर्ण रूपमा भ्रामक र तथ्यहीन रहेको दाबि गरेको छ।
कम्पनीले बिज्ञप्तिमा २०८३ जेठ ४ सम्म संस्थापक तथा कर्मचारी समूहका सबै २ करोड ७२ लाख १९ हजार ३२८ कित्ता सेयर लक-इनमै रहेको र सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट मिति २०८३ वैशाख २१ गते प्राप्त विवरणमा पनि कैफियत नदेखिएको र सो सेयरहरू नियमानुसार लक-इनमा रहेको पुष्टि भएको कम्पनीले उल्लेख गरेको छ।
हकप्रद सेयर बिक्रीको विषयमा पनि कम्पनीले स्पष्टिकरण दिएको छ। नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा साविक सेयरधनीहरूलाई हकप्रद सेयर जारी गरिएको र बिक्री नभई बाँकी रहेका सेयरहरू धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ अनुसार लिलाम प्रक्रियामार्फत बिक्री गरिएको कम्पनीको भनाइ छ।
कम्पनीले लिलामअघि नै प्रकाशित सार्वजनिक सूचनामार्फत संस्थापक तथा कर्मचारी समूहका सेयरहरू तोकिएको मितिसम्म लक-इनमा रहने जानकारी दिइएको पनि उल्लेख गरेको छ।
कम्पनीले नियामकीय सबै प्रक्रिया पूरा गरेको दाबी गर्दै आफ्ना पदाधिकारीविरुद्ध आधारहीन समाचार प्रकाशित भएकोप्रति असन्तुष्टि जनाएको छ।


प्रतिकृया