मतदाता भन्छन्, “उम्मेदवार हेरेर आफ्नो मतदान गर्छौं”

मतदाता भन्छन्, “उम्मेदवार हेरेर आफ्नो मतदान गर्छौं”

बैतडीको सिगास गाउँपालिका–९ का रवीन्द्र र हिमा बोहराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलोपटक मतदान गर्न लागेका छन्। पहिलोपटक मतदान पाउँदा दुवै जना उत्साहित र उम्मेदवार चयनमा सचेत छन्।

रवीन्द्रले भने, “म पहिलोपटक मतदान गर्दैछु, उत्साहित मात्रै होइन, सचेत पनि छु। युवा र देशको वर्तमान आवश्यकतालाई प्राथमिकता दिनसक्ने उम्मेदवारलाई भोट हाल्ने योजना छ।”

पहिलो पटक मतदान गर्न लागेकी हिमाले पनि सक्षम नेतृत्व दान गर्ने बताइन्। उनले भनिन्, “राम्रो र सक्षम नेतृत्वलाई मतदान गरेर देशको विकास गर्नु आवश्यक छ। उम्मेदवारका एजेन्डा आधारमा मत दिने सोच बनाइरहेकी छु।”

बैतडीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। केही उम्मेदवार नयाँ छन् भने केही दोहोरिएका छन्।

पुर्चाैंडी नगरपालिका–४ का पुष्कर भट्टले उम्मेदवारसँग प्रतिबद्धता गरेर मात्रै आफ्नो मत दिने बताए। उनले भने, “मताधिकारको प्रयोग पहिलोपटक गर्दैछु। योग्य, नैतिकवान् र राम्रो योजना र नीति भएका उम्मेदवारलाई मतदान गर्नेछु।”

जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीका अनुसार जिल्लामा १२९ मतदानस्थल र २१४ मतदान केन्द्र छन्। जिल्लामा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र अन्य दुई गरी कुल १,५६,३७२ मतदाता रहेका छन्।

सुरक्षा दृष्टिले ३३ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकृत गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स